मुख्यमन्त्री जम्कट्टेलद्वारा खेलकुद भवन र जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन

बनेपा । जिल्ला खेलकुद विकास समिति काभ्रेपलानञ्चोकको आयोजनामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

शुक्रवार काभ्रेको बनेपामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रतियोगिताको उद्घाटन गरेका हुन् । सोहि अवसरमा बागमती प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेपा नगरपालिका वडा नम्बर ६ बुडोलमा निर्माण भएकाे जिल्ला खेलकुद बिकास समिति काभ्रेपलाञ्चोकको भवनकाे समेत उद्घाटन गरिएको थियो ।

प्रतियोगिता र जिल्ला खेलकुद बिकास समितिको भवनकाे उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारको शिक्षा नीति तय गर्दा विद्यालयहरुलाई आवासिय मोडलमा लैजाने र माध्यमिक विद्यालयहरुमा अनिवार्य रुपमा खेलाडी प्रशिक्षक राख्ने ब्यवस्था गर्ने तयारी गरेको बताएका छन् । उनले खेलकुदको समग्र विकास नगरीकन समग्र क्षेत्रमा अनुशासन कायम हुन सक्ने तर्क गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रलाई महत्वका साथ अगाडी बढाएकाे बताए । उनले बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको समेत बताए ।

मुख्यमन्त्री जमकट्टेलले भने–‘प्रदेश खेलकुद सम्वन्धी ऐन निर्माण बनायौं । परिषद् बनायौ र त्यहिँबाट खेलकुदका नियमित गतिविधीहरु अघि बढायौं ।’ खेल क्षेत्र राष्ट्रको पुँजी हो, गौरव हो’–उनकाे भनाई थियाे । उनले भने- बागमती प्रदेश सरकारले स्थानीय तहका लागि नयाँ नीति बनाएको छ । सडकका लागि पैसा परेन भनेर चिन्ता नगर्न स्थानीय सरकारका प्रतिनिधिहरुलाई मुख्यमन्त्री कट्टेलले अनुरोध गरेका छन् ।

संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम लगायतले कार्यक्रममा बाेल्दै खेल क्षेत्रकाे विकासका लागि आफुहरू लागि रहेकाे बताए ।

१५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ वटै पालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा जिल्लाका १३ पालिकाबाट विभिन्न विद्यामा उत्कृष्ट भई ९ सय ६० जना विद्यार्थीहरु सहभागि भएका छन् ।प्रतियोगितामा ६ खेलहरू भलिबल, एथलेटिक्स, कराते, तेक्वान्दाे, कबड्डी र उसुमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको समापन आईतवार हुनेछ ।