नेपाल डेरी एसोसिएसनले रजत जयन्ती मनाउने

ललितपुर । नेपाल डेरी एसोसिएसनले रजत जयन्ती मनाउने भएको छ ।

नेपालमा रहेका डेरीहरुको राष्ट्रिय छाता संगठन नेपाल डेरी एसोसिएसनले २५ औं स्थापना दिवसको अवसरमा माघ ७ गते रजत जयन्ती मनाउन लागेकाे हाे ।

काठमाडौंमा विशेष कार्यक्रम गरी एसोसिएसनले रजत जयन्ती मनाउन लागेको मंगलबार ललितपुरमा आयाेजित पत्रकार सम्मेलनमा जनाइएकाे छ । वार्षिक साधारणसभा समेत हुने उक्त कार्यक्रममा देशभरबाट डेरी व्यवसायीहरुको उपस्थिति रहने बताइएकोे छ ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै रजत समारोह मनाउनको लागि तयार गरिएको समितीका संयोजक एवं एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले माघ ७ गतेको अवसरमा एसोसिएसनले निर्देशन गरेका सबै कार्यक्रम गर्न आग्रह गर्दै रजत जयन्ती एवं वार्षिक साधारणसभामा सहभागी हुन सबै डेरी उद्योगीहरुलाई आग्रह गरेका छन् । रजत जयन्तीको पूर्व सन्ध्यामा देशभर विविध कार्यक्रम हुने एसोसिएसनले जनाएको छ भने प्रदेश तथा जिल्लास्तरीय कार्यक्रमहरु पनि हुने बताइएकाे छ । यसका साथै, एसोसिएसनले बालआश्रम, ज्येष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताल लगायतमा दूध तथा दुग्ध पदार्थ वितरण गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा बाेल्दै एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले व्यावसायिक हकहित तथा डेरीको विकासमा एसोसिएसनको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।