जिसस प्रमुख र शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेका प्रमुखवीच विवाद: १२ घण्टा भित्र कारबाही गर्न मन्त्रालयलाई अनुरोध

धुलिखेल । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख र शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेपलाञ्चोकका प्रमुखवीच विवाद भएको छ ।

जिसस काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतम र शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेपलाञ्चोकका प्रमुख चेत कुमार पोखरेलवीच शैक्षिक सुधारका बिषयमा मतभेद / विवाद भएको थियाे ।

साेही मतभेद / विवादका बिषयमा जिसस प्रमुख दिपक कुमार गौतमकाे सचिवालयको तर्फबाट प्रष्टोक्ती निकाली १२ घण्टा भित्र शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेपलाञ्चोकका प्रमुखलाई कारबाही प्रक्रिया अगाडी बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको छ । ईकाई प्रमुख पोखरेलले जिसस प्रमुख गौतममाथि अमर्यादित शब्द समेत प्रयोग गरी दुर्व्यवहार गरेकाे प्रष्टोक्तीमा उल्लेख गरिएकाे छ ।

शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख पोखरेलले शिक्षक र विद्यालयका समस्यालाई गम्भीर रुपमा नलिने, सामान्य कामलाई पनि पटकपटक बोलाई दुःख दिने, कार्यालयमा नबस्ने गरेको पाईएकाले निजको कार्यसम्पादनको बिषयलाई लिएर निजलाई १२ घण्टा भित्र मन्त्रालय तानेर कारबाही प्रक्रिया अगाडी बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको प्रष्टोक्तीमा उल्लेख छ ।

साथै, तोकिएको समयसीमा भित्र मन्त्रालयबाट निजलाई काभ्रेपलाञ्चोक जिल्लाबाट नतानेको खण्डमा भोली बिहिवार कार्यालय प्रवेशमा रोक लगाउने र थप कारबाहीका लागि अगाडी बढ्ने समेत गौतमको सचिवालयले जारी गरेकाे प्रष्टोक्तीमा जनाईएकाे छ ।

साेही बिषयमा जिसस प्रमुख गाैतमसंग बुझ्दा उनले ईकाई प्रमुखलाई कार्यालयमा छिर्न नै नदिने समेत बताएका छन् ।