शिक्षकहरु प्रविधिमैत्री हुनुपर्छः पालिका अध्यक्ष अधिकारी

बेथाञ्चोक । बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले शिक्षकहरु प्रविधिमैत्री हुनुपर्ने बताएका छन् ।

बेथाञ्चोक वडा नम्बर ४ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै अध्यक्ष अधिकारीले कालोपाटीबाट सेतोपाटीमा आइपुग्दा वर्तमान शिक्षा ‘स्क्रिन जेनेरेशन’मा आधारित भएकोले सोही अनुरुप आफूहरुमा परिवर्तन ल्याउन शिक्षकहरुलाई आग्रह गरेका छन् । उनले थपे ‘ज्ञान र सिपमा आधारित शिक्षाको संयोजन गरेर विद्यार्थीलाई शैक्षिक ज्ञान कसरी दिने भनेर तयारी गरेर मात्र कक्षाकोठामा प्रवेश गरौँ ।’

यस्तै, गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले सिपमा आधारित शिक्षाले बालबालिकामा युग सुहाउँदो ज्ञान आर्जन गर्ने वातावरण सिर्जना गर्न शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिले मिलेरै अघि बढ्नु पर्ने बताएकी छिन् । कार्यक्रममा बाेल्दै वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर तामाङले विद्यालयको वृहत्तर हितका लागि वडाबाट गर्नु पर्ने सबै प्रकारका सहयोग गर्न वडा कार्यालय तयार रहेको बताउँदै वडाभित्रका ३ वटै माध्यमिक विद्यालयहरु अब्बल हुनेगरी शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा कार्यकाल पुरा गरी जिम्मेवारी हस्तान्तरण गर्नुहुने विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पूर्व पदाधिकारीहरु, चन्दादाता लगायतलाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा एस.ई.ई. परीक्षा २०७९ का विद्यार्थी सम्मान, वर्षैभरी विद्यालयका विविध गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।