विदेशबाट फर्केपछि स्वदेशमै काम गर्ने उद्देश्यले रिसोर्ट सञ्चालन

पनौती । करिब एक दशक विदेशी भूमिमा आफ्नो महत्त्वपूर्ण समय बितेकाे र अब स्वदेश/आफ्नै ठाउँमा नै केही गर्नु पर्छ भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकका महेश थापाले पनौतीमा रिसोर्ट सञ्चालन गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर ३ थापागाउँमा जन्मिएका महेशले दश वर्ष विदेशी भूमिमा पसिना बगाएर आफ्नै गाउँ फर्केपछि आन्तरिक पर्यटन प्रबर्द्धनकाे काम पनि हुने अनि अरूलाई पनि राेजगारकाे अवसर हुने भन्दै काठमाडौंबाट नजिकै सुन्दर र शान्त पारिवारिक वातावरणमा रैथाने परिकारलाई प्रमोट गर्नका लागि पनाैती ४ चामखरमा भ्यू प्वाइन्ट रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

स्वदेशमा आएर केही गरौं भन्ने तयारीमा लाग्दै जाने क्रममा रिसोर्ट सञ्चालन गर्न थालेको बताँउदै विदेश जानुअघि आफुले ट्राभल एण्ड टुरिजमकाे क्षेत्रमा काम गरेकाे अनुभव पनि अहिले प्रयाेगमा आएकाे उनी बताउछन् । पछिल्लो समयमा लोप हुन लागेको रैथाने बाली संरक्षण गर्ने र आन्तरिक पर्यटनलाई समेत टेवा पुर्‍याउने उद्धेश्यले रिसोर्ट सञ्चालन गरेको भन्दै रैथाने परिकारलाई प्रमोट गर्न समेत मद्दत पुग्ने उनकाे विश्वास रहेकाे छ ।

व्यवसायमा स्थापित हुन धेरै दुःख गर्नुपर्ने अनि समय लाग्ने भए पनि त्यस क्षेत्रमा योगदान दिन र स्वदेश/आफ्नै ठाउँमा केही गर्न सकिन्छ भनेर अरूलाई पनि त्यसतर्फ आकर्षण गर्न पनि आफुले रिसोर्ट सञ्चालन गरेकाे उनको भनाई छ । विशेषगरी भूकम्प र कोभिड पछि घुम्ने संस्कारको उल्लेख्य बृद्धि भएको र त्यसलाई निरन्तरता दिने क्रममा घुमन्तेहरुलाई सेवा दिने हेतुले याे व्यवसाय रोजेको उनकाे भनाई छ । उनले थपे- गाउँमा नै केही गर्नका लागि आफ्नै गाउँका एक जना भाइले विदेशबाट फर्केपछि त्यहाँ पाएको दुःख सम्झदै विदेशबाट आउँदा ल्याएको सुटकेस च्यातेर आँगनमा धनियाँ उमारेको देखेपछि आफुलाई झन् व्यवसायमा लागेर आफ्नै गाउँमा केही गरौं भन्ने दृढ संकल्पका साथ स्वराेजगार हुँदै अरूलाई पनि राेजगार उपलब्ध गराउने साेच छ ।

उनी थप्छन्- विदेशमा हुँदा धेरै योजना बुनेर गाउँ फर्कने र यहाँका विभिन्न गतिविधिले फेरी सुटकेस बोकेर विमानस्थलमा छोराछोरी र परिवारलाई रुवाएर पुनः विदेश नै जानुपर्ने बाध्यता रहेकोमा अब त्यसरी जानुहुँदैन, केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि आफुले याे व्यवसाय सुरु गरेको हुँ ।

तीन बर्ष अघि पनि पनौतीमा सुर्के हाउस सञ्चालन गरिसकेका उनले पछिल्लो समयमा अलि परिस्कृति गरेर अर्को रिसोर्ट थालनी गरेका हुन् । करिब १५ लाख लगानीमा जग्गाधनि सुकराम तामाङसंग समन्वय गरेर थालनी गरेको याे व्यवसायले अहिले स्थानीयहरूलाई रोजगार समेत दिएकाे छ । ‘यो सुरुवात हो, तर पनि होटल क्षेत्रमा थालेको काम कहिल्यै सकिदैन ।’ उनले भने, ‘यस क्षेत्रमा थप गर्दै जाने क्रममा नयाँ नयाँ कामहरु भईरहने भएकाले यो एउटा खुट्किला मात्रै हो ।’

चामखरस्थित भ्यू प्वाइन्ट रिसोर्टमा पुगेपछि पर्यटकीयस्थल नगरकोट, नमोबुद्ध, धुलिखेल, फुल्चोकीडाँडा लगायत हिमश्रृंखलाहरु समेत अवलोकन गर्न सकिने भएकाले सो डाँडामा व्यवसाय सुरु गरेको उनले बताए ।

स्थानीय किसानहरुले उत्पादन गरेको दूध, चामल, मकै, गुन्द्रुक, साग, लोकल कुखुरा, तरकारी लगायतका स्थानीय उत्पादनहरू खरिद गरि आफुले सञ्चालन गरेको रिसोर्टमा पर्यटकलाई स्थानीय स्वादकाे परिकार बनाई सेवा दिने गरेकाे महेश बताउँछन् । साथ, गाउँलेहरुले उत्पादन गरेका सबै प्रकारका खाद्यन्न बस्तु आफुले खरिद गरिदिने गरेको र त्यही अनुसारको मुल्य तिरेर खरिद गर्दा किसान पनि खुशि हुने उनले बताए ।

पञ्चवर्षे योजना बनाएर काम गरिरहेको बताउँदै उनले थप संरचनाहरु निर्माण गर्ने, बगैंचा बनाउने र स्थानीय उत्पादन खरिदसंगै आफैले पनि उत्पादन गर्ने तयारीमा रहेको योजना सुनाए । रिसाेर्टमा मिटिङ, तालिम, गेष्ठी, सभा सम्मेलन लगायत बिदाकाे समयमा साथिभाईसँग गेदरीङ गर्नेहरूकाे लागि पनि सेवा उपलब्ध रहेकाे उनी बताउँछन् । यस्तै, सहरको भिडभाड, कोलाहल अनि व्यस्त जीवनबाट एक दिन मात्रै भए पनि काठमाडौंबाट नजिकैकाे सुन्दर अनि रमणीय ठाउँमा समय बिताउन खोज्नेलाई, यो स्थान उपयुक्त रहेकाे स्थानीयहरू बताउँछन् ।

करिब एक महिना अगाडीबाट रिसोर्ट सञ्चालनमा ल्याएपछि अचेल दैनिक जसाे चामखर पुग्नेहरुको संख्यामा बृद्धि हुँदै गएको छ ।