केयुमा अन्तर्राष्ट्रिय उपकुलपति सभा, दक्षिणपूर्वी एसियाली विश्वविद्यालयहरूकाे सहभागिता

धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयु)काे आयोजनामा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलन हुने भएकाे छ ।

धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा संचालन हुने ३ दिने उक्त सम्मेलनकाे उद्घाटन बिहिवार प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने बुधवार साँझ विश्वविद्यालयमा आयाेजित पत्रकार सम्मेलनमा जनाईएकाे छ ।

भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाण्डौ विश्वविद्यालयको तत्वावधानमा बिहिवारदेखि शनिवारसम्म चल्ने उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलन कार्यक्रममा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरूको उपस्थिति रहनेछ । उक्त कार्यक्रममा भारतीय विश्वविद्यालय संघका अध्यक्ष तथा विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालय मेघालयका उपकुलपति प्रा डा जी डी शर्माले अध्यक्षीय सम्बोधन गर्नेछन् भने कार्यक्रमको समाप्ति मन्तव्य केयुका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गर्नेछन् । भारत सहित दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २३७ जनाको सहभागिता रहने सम्मेलनमा भारतीय विश्वविद्यालय संघका उपाध्यक्ष एवं क्षत्रपति साहुजी महाराज विश्विविद्यालय कानपुरका उपकुलपति विनय कुमार पाठक, अखिल भारतीय तकनीकी शिक्षा परिषदका अध्यक्ष डा अभय जेरे, राष्ट्रिय मूल्यांकन एवं प्रत्यायन परिषद वेङ्गलुरूका निर्देशक प्रा गणेशन कन्नविराम, भारतीय कृषि अनुसन्धान परिषदका निर्देशक डा आर सी अग्रवाल, भारतीय विश्वविद्यालय संघकी महासचिव डा पंकज मित्तल तथा काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जनाईएकाे छ ।

साथै, विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा “भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण” मूल- विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर – विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति लगायतका विषयमा छलफल हुनेछ । अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरुको आदानप्रदानलाई प्रोत्साहित गर्नेछ । सभाले विभिन्न क्षेत्रका शैक्षिक समुदायहरु, विशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरुवीच सांस्कृतिक विचार आदान प्रदानलाई पनि बढावा दिने र सभाको अवधिमा सहभागीहरुले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरूको बारेमा छलफल गर्नेछन् । जसमा, विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान र पाठ्यक्रम विकास सहितका विषयहरू समावेश छन् ।

अन्तर्राष्ट्रिय उपकुलपति सभामा ३ मूल विषहहरुमा छलफल हुनेछन् । जस अन्तर्गत पहिलो विषय International Collaborations and Partnerships: Building bridges for Higher Education रहेको छ, जसमा सहभागीहरुले अनुसन्धान साझेदारी, विद्याथी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम, र प्राज्ञिक साझेदारीका फाइदाबारे छलफल गर्दै उच्च शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका साझा मार्ग निर्माणमा केन्द्रित हुनेछ भने
दोस्रोमा Global Higher Education Policy and Regulation : Harmonizing Standards मा नियमन र नीति निर्माणका साझा मुद्दाहरू- जस्तै, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्य जस्ता विषयहरुमा छलफल गरेर विश्वव्यापी उच्च शिक्षामा नियमन र नीतिगत प्रष्टता सहित आगामी कार्यदिशा पहिल्याउने प्रयास हुनेछ र तेस्रोमा Student Mobility and Diversity : Enhancing International Experiences मा विद्यार्थी गतिशीलता र त्यसको विविधताका अन्तर्राष्ट्रिय अनुभवका बारेमा छलफल हुनेछ ।

छलफल विद्यार्थी आदानप्रदान कार्यक्रमहरू प्रवर्धन गर्ने तरिकाहरुमा केन्द्रित हुनेछ, जसमा विश्वविद्यालयमा समावेशीता, सदासयता र सांस्कृतिक विविधताका विविध पक्षको शैक्षिक वातावरण विकास गर्दै वैश्विक तादात्म्य खोज्ने कार्य हुनेछ । आ- आफ्ना विशिष्ठिकृत अनुभव र दृष्टिकोणकोलाई उच्चाशिक्षाको साझा समृद्धिमा रूपान्तरण गर्दै भूमण्डलीकृत संसारमा साझा सफलता खोज्नु अन्तर्राष्ट्रिय उपकुलपति सभाको मुख्य उद्देश्य रहेकाे विश्वविद्यालयले जनाएकाे छ ।

भारतीय विश्वविद्यालय संघ अर्थात् सन् १९२५ मा बम्बई विश्वविद्यालयका उपकुलपति र उच्च शिक्षा अधिकारीहरुको बैठकमा अन्तर-विश्वविद्यालय संगठनको रूपमा भएको थियाे । पछि, सन् १९६७ मा समाज दर्ता ऐन, १८६० अन्तर्गत यसले एक समाजको रुपमा कानुनी मान्यता प्राप्त गर्यो र सन् १९७३ मा भारतीय विश्वविद्यालय संघ नामकरण भएकाे थियाे । यसमा नेपालबाट काठमाडौं विश्वविद्यालय लगायत बाङ्लादेश, भुटान, काजकस्तान, मलेसिया, मरिसस, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र बेलायतका देशका १३ विश्वविद्यालय र संस्थाहरु एसोसिएट सदस्य छन् । यस कन्सोर्टियमको प्रमुख उद्देश्य विश्वविद्यालयहरुको समसामयिक सरोकारहरुमा छलफल गर्दै उच्च शिक्षाको विकास र विकासमा सक्रीय रूपमा संलग्न हुनु हो । सम्मेलनले नेपालका विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थीहरुलाई करिब १०० भारतीय विश्वविद्यालयका प्राध्यापकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र ती विश्वविद्यालयहरुले उपलब्ध गराएको अवसरहरु बुझ्ने अवसर प्रदान गर्नेछ । १०० भारतीय विश्वविद्यालयहरुले लगभग ५००० शैक्षिक र व्यावसायिक कार्यक्रमहरु, आविष्कारहरु र उत्कृष्ट अभ्यासहरु प्रदर्शन गर्नेछन् ।

सम्मेलनमा दुवै देशका प्राध्यापक र विद्यार्थीहरुले पारस्परिक अनुसन्धान सहयोग, प्राध्यापक र विद्यार्थी आदानप्रदान, ट्विनिङ कार्यक्रमहरु, संयुक्त र दोहोरो डिग्री आदिमा अन्तरक्रिया र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि आफ्ना आविष्कारहरु र उत्कृष्ट अभ्यासहरुकाे प्रदर्शन हुने काठमाडौं विश्वविद्यालयकी प्रवक्ता
एक्कुमाया पुनले बताईन् ।

शिखर सम्मेलनले दुवै देशका विश्वविद्यालयवीचको सहकार्य र ज्ञान आदानप्रदानलाई बढावा दिनुका साथै भारत र नेपालबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने पुनले बताएकी छिन् ।