उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
धुलिखेल । एसोसिएसन अफ इन्डियन युनिभर्सिटीज (एआईयू) एवं काठमाडौं विश्वविद्यालयको संयुक्त तत्ववधानमा एआईयू नर्थ जोन भाइस चान्सलर्स मिट २०२४ तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् ।
धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा संचालन हुने ३ दिने सम्मेलनको उद्घाटन गर्दै काठमाडौं विश्वविद्यालयको कुलपति समेत रहेमका प्रधानमन्त्री ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । बिहीवार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए।
“शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।” उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिहरुसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ती देखिएको बताए ।
प्रधानमन्त्रीले भने “महँगो बजेटका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उत्तरका शैक्षिक प्रणालीहरूले आकर्षित गरेपनि यो अवस्था लामो समयसम्म यस्तो अवस्था नरहन सक्छ ।प्रधानमन्त्री ‘प्रचण्ड’ले दक्षिणमा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरुपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन् । प्रधानमन्त्रीले चिकित्सा शिक्षा, जीवन शैली र शान्ति स्थापनाजस्ता विषयमा दक्षिणको मौलिक बौद्धिक सम्पदाले विश्वलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
आफ्नो ३२ वर्षको इतिहासमा, काठमाडौं विश्वविद्यालयले अन्तर्राष्ट्रियकरण र शैक्षिक कार्यक्रमहरूको विस्तारमा सराहनीय प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पाँच हजारभन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्नातक गराएकोप्रति खुशी व्यक्त गरे । विश्वविद्यालयको यस खाले पहलहरूले नेपालको शैक्षिक प्रस्तावहरूलाई मात्र नभएर अन्तर–सांस्कृतिक बुझाइ र सहकार्यलाई पनि बढावा दिएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले आगामी शैक्षिक वर्षमा विश्वेश्वर योग अनुसन्धान संस्थानसँगको साझेदारीमा भारतको तिरुपतिमा प्रदान गरिएको योग विज्ञान र कल्याणमा स्नातक कार्यक्रमको साथमा काठमाडौं विश्वविद्यालयले विदेशमा आफ्नो शैक्षिक कार्यक्रमहरू विस्तार गरेकोमा बधाई दिएका छन् ।
बिहिवारबाट शनिवारसम्म धुलिखेलमा चल्ने उक्त उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलन कार्यक्रममा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड लगायतका देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरूको उपस्थिति रहनेछ । कार्यक्रममा भारत सहित दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २ सय ३७ जनाको सहभागिता रहेकाे काठमाडौं विश्वविद्यालयले बताएकाे छ ।