बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव सकियाे

बनेपा । “बजारमुखी एवं निर्यात योग्य कृषिको उत्पादन समृद्ध तथा समुन्नत काभ्रेको अभियान” भन्ने नाराका साथ आयाेजित बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० सोमवार सकिएको छ ।

गत शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गरेकाे काभ्रेपलाञ्चोक जिलालाकाे बनेपास्थित करूणा मार्गमा ४ दिनसम्म चलेकाे महोत्सव साेमवार काठमाडौ विश्वबिद्यालयका उपकुलपति भोला थापाकाे उपस्थितिमा समापन भएकाे हाे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिका लगायत काभ्रेका सबै स्थानिय तह, काभ्रे उद्योग वाणिज्य संघ र सबै नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएकाे महोत्सवकाे उक्त महाेत्सवमा जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘बृहत कृषि महोत्सव ’ आयोजना गरिएको थियो । महोत्सवमा कृषि प्रविधी, रैथाने बाली, विउ, खाद्यान, दुग्धजन्य उपज, तरकारी, लोकल धान, प्राङ्गारिक प्रमाणित कृषि उपजहरु, च्याउ, लोकल चामल, कोल्ड च्याम्बर प्रविधि लगायतका सामाग्रीका १ सय ५० भन्दा बढी स्टल राखिएकाे थियाे ।

महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार समेत संचालन गरिएको थियो । साथै, कार्यक्रममा हरेक दिन साँस्कृतिक प्रस्तुतीहरूकाे आयाेजना गरिएकाे थियाे ।

महोत्सवमा करिब ७० हजार जनाले अवलोकन गरेकाे जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं महोत्सव मूल आयोजक समितिका संयोजक दिपक कुमार गौतमले बताएका छन् ।