पनौती नगरपालिका बालश्रममुक्त नगर घोषणाको तयारीमा

पनौती । बालश्रममुक्त नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेको पनौती नगरपालिकाले बालश्रम निवारणका सन्दर्भमा पत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेकाे छ ।

नगरपालिकाले साेमवार अन्तराष्ट्रिय श्रम संगठन (ILO) संगको सहकार्यमा बालश्रममुक्त नगरपालिका घोषणा गर्ने उद्येश्यका साथ अभियान सञ्चालन भईरहेकोमा बालश्रममुक्त अभियान र सोको निरन्तरताको बिषयमा पत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेकाे हाे । कार्यक्रममा नगरपालिकाले हालसम्म गरेका प्रगति तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराईएकाे थियाे ।

कार्यक्रममा बाेल्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बालबालिकाको क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको र बालमैत्री स्थानीय शासन अन्तर्गत सञ्चालित कार्यक्रमले बालबालिकाको अवस्थामा सुधार आएको, विद्यालय छाडेका धेरै बालबालिका पुनः विद्यालय भर्ना भएको बताएका छन् । यस्तै, उपप्रमुख गिता बञ्जाराले बालमैत्री दिगोपनाका लागि नरपालिकाले काम गरिहेको बताईन् ।

कार्यक्रममा नगरपालिकाका बालमैत्री सम्पर्क व्यक्ति केशव बञ्जाराले नगरपालिकाले हालसम्म गरेका कार्यको बारेमा जानकारी गराएका थिए । नगरपालिकाले बालमैत्री स्थानीय शासन अन्तर्गत ५१ वटा सुचकमा रहेर काम गर्दै आइरहेको र आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा नै उक्त विषय समावेश गरिएको बालमैत्री संपर्क व्यक्ति बञ्जाराले बताए । कार्यक्रममा बालश्रमको तथ्यांक संकलन गरिएको, बालश्रममुक्त नगर घोषणा कार्यविधि तयार गरिएको, होर्डिङ बोर्ड, हातेपर्चा, प्रतिवद्धता पत्र तयार गरिशएको, बालश्रम निवारण डेस्क बनाइएको उनले बताएका छन् । यस्तै, हरेक वडामा एक घर, एक मिनेट कार्यक्रम समेत सञ्चालन गरिएको छ भने बालश्रम प्रयोग नगर्ने उद्योगी व्यवसायीलाई सम्मान गरिएको छ । नगरभित्र अझैपनि १७ जना बालबालिका श्रममा रहेको तथ्यांक सार्वजनिक भएको छ । बालबालिकाको जन्मदर्ता विवरण तयार गर्ने, क्षमता अभिवृद्धि गर्ने, चेतनामुलक कार्यक्रम तयार पार्ने, बालश्रमको अवस्था अनुगमन लगायतका कार्य गर्ने लगायतको काम नगरपालिकाले गरेकाे उनकाे भनाई थियाे ।

हालसम्म पनौती नगरपालिकाका १२ वटा वडा मध्ये वडा नम्बर ११ नगरपालिकाकै पहिलो बालश्रममुक्त वडा घोषणा भईसकेकाे छ भने अन्य वडाहरु बालश्रममुक्त वडा घोषणाको तयारीमा रहेकाे जानकारी गराईएकाे थियाे ।

कार्यक्रममा अन्तराष्ट्रिय श्रम संगठनका उद्धवराज पौड्यालले बालश्रमिकको अवस्था बारे जानकारी दिदैं नेपालमा ५ देखी १७ वर्ष उमेर समुहका ७० लाख बालबालिका मध्ये ११ लाख बालबालिका श्रममा संलग्न रहेकाे बताएका छन् । जसमा १ देखी १३ वर्ष उमेर समुहका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको र १४ देखी १७ वर्ष उमेर समुहका १० प्रतिशत बालबालिका श्रममा रहेकाे पौड्यालले बताए । उनले १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेको बताए ।

पनौती नगरपालिका २०७८ असार ३० गते बालमैत्री नगरपालिका घोषणा भएको थियो ।