२६ औं सांस्कृतिक सहिद दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

पाँचखाल । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) पाँचखाल १ नम्बर वडा समितिकाे आयोजनामा २६ औं सांस्कृतिक सहिद दिवस एवं सहिद तथा बेपत्ता याेद्धा परिवार सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

सोमवार काभ्रेपलाञ्चोक जिल्लाकाे अनाैकाेटमा भएकाे २६ औं सांस्कृतिक सहिद दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङकाे प्रमुख आतिथ्यतामा भएकाे हाे । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तामाङले जनताले अनुभुति गर्ने खालका काम हुन नसकेकाे बताएका छन् ।

मन्त्री तामाङले याे अहिलेकाे परिवर्तनप्रती ढुक्क छैनाैं, अझैं पनि कुनै कुनै रूपले आन्दोलित छाैं र सहिद परिवारले पाउनु पर्ने राहात पाएका छैनन् भन्दै संविधान र परिवर्तित राजनीतिक उपलब्धि जोगाउन सबै क्रान्तिकारीहरु एक ठाउँमा हुने बेला आएको बताए।

‘हामीले भनेको र सोचेको सबै कुरा समावेश नभए पनि विगतका विभिन्न चरणमा घोषणा गरिएका संविधानभन्दा अग्रगामी संविधान बनेको छ, कमसेकम गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रलाई संस्थागत गरेका छौँ’ मन्त्री तामाङले भने, ‘यी राजनीतिक उपलब्धिहरुलाई कमजोर हुन नदिनका लागि फेरि सबै क्रान्तिकारीहरु एकढिक्का हुने बेला आएको छ ।’

उनले संविधान र परिवर्तित उपलब्धिका रक्षाका निम्ति समाजवादी मोर्चा बनेको समेत बताएका छन् । मन्त्री तामाङले अनैकोटमा सहिद स्मृति पार्क निर्माण गने प्रतिबद्धता गर्दै आगामी बजेटमा व्यवस्थित पार्क निर्माणकाे लागि बजेट उपलब्ध गराउने बताएका छन् ।

कार्यक्रममा सहिद तथा बेपत्ता परिवारलाई सम्मान समेत गरिएकाे थियाे ।