शिक्षकहरुले आफ्नो व्यावसायिक दक्षतामा ध्यान दिन आवश्यक छ: पूर्व सभामुख सापकोटा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले शिक्षकहरुले आफ्नो व्यावसायिक दक्षतामा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोककाे प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरुले व्यावसायिक दक्षतामा विशेष ध्यान दिन आवश्यक रहेकाे बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सापकाेटाले शनिवार बनेपामा आयोजित ‘प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान’ कार्यक्रममा बोल्दै विद्यार्थीको व्यक्तित्व विकासका लागि उसको मनोविज्ञान, सर्वाङ्गीण विकास र परिवारको अवस्था बुझेर ज्ञान दिन आवश्यक रहेको बताएका छन् । उनले थपे- अहिले विश्वभरिनै नैतिक शिक्षाको खडेरी भएर अर्थ र व्यापारमा केन्द्रित भएको बेलामा शिक्षकहरु उद्धेश्यतिर केन्द्रित हुँदै भविश्यतिर अगाडी बढ्दै नैतिकतामा सच्चा र वैज्ञानिक विचारधाराको विकास गर्न र नागरिकको मन जित्न सक्नुपर्नेछ । पाठ्पुस्तकमा भएको विषय विद्यार्थी आफैले अध्ययन गर्ने भएकाले शिक्षकहरुले नैतिक शिक्षा र मनोवैज्ञानिक ज्ञान दिलाउन सक्नुपर्छ । ‘त्यसको लागि शिक्षकहरुले समयको व्यवस्थापन ठीक ढंगले गर्न सक्नुपर्दछ ।’ बालबालिकाहरु विश्वविद्यालय जस्तै भएकाले केस्राकेस्रा केलाएर अध्ययन गरी नयाँ ज्ञान आर्जन गर्दै अरुलाई प्रदान गर्न सक्नुपर्नेछ ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले अहिलेको राजनीतिक दलहरुवीचमा भएको साझा सहयात्रा गठबन्धन नभएर समिकरण भएको भन्दैं अहिलेको राजनीतिक समिकरणले नागरिकमा पहिलाको भन्दा अझ बढी खुशि र आशा पलाएको उनकाे भनाई थियाे ।

कार्यक्रमका अध्यक्ष समेत रहेका एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष चेत बहादुर लामाले पालिकास्तरमा त्यहाँका नेतृत्वले शिक्षकहरुमाथि राजनीतिक दृखिष्कोणले हेर्ने र विभेद गर्ने अवस्था भोग्नु परेको भन्दै त्यसबाट मुक्त हुन आवश्यक रहेको बताएका छन् । उनले जुन पालिकामा जुन पार्टीको नेतृत्व छ, त्यही पार्टीको शिक्षकलाई मात्रै नियुक्ती गरिदिने प्रबृत्ति देखिएकाले त्यसखालको अवस्थाले शिक्षामा विकास र गुणस्तरमा बृद्धि गर्न नसक्ने अवस्था सिर्जना भएकाे बताएका छन् ।

कार्यक्रममा संगठनमा आवद्ध भई शिक्षण पेशामा लागेर सेवा निबृत्त भएका र दीर्घसेवा प्रदान गरिरहेका १०७ जना शिक्षकहरुलाई सम्मान समेत गरिएको थियाे ।