भुम्लु र चौंरीदेउरालीमा जिससकाे अनुगमन

काभ्रेपलानञ्चोक । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतम नेतृत्वको टोलीले भुम्लु र चौंरीदेउराली गाउँपालिकामा अनुगमन गरेकाे छ ।


आईतवार जिसस, जिल्ला स्तरीय सुरक्षा समिति एवं परिक्षा समितिको संयुक्त टोलिले भुम्लु र चौंरीदेउराली गाउँपालिकाका योजना, एसईइ परिक्षा, स्थानीय स्थलगत अवस्था लगायतको अनुगमन गरेकाे हाे ।

जिसस प्रमुख गौतम नेतृत्वको अनुगमन टोलीले चौरीदेउराली गाउँपालिकाको विभिन्न वडामा लागत साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित योजनाहरुको अनुगमन गरेको हाे । अनुगमन टोलीले गाउँपालिकाकाे वडा नम्बर ३ को श्री बुद्ध हिमालय माध्यमिक विद्यालय, वडा नम्बर २ को वटपार खानेपानी आयोजना, वडा नम्बर २ को वडा कार्यालय भवन लगायतका आयोजनाको अनुगमन गरेको हो । श्री बुद्ध हिमालय माध्यमिक विद्यालयमा घेराबार तथा खेल मैदान निर्माणका लागि जिससले ८ लाख तथा चौरीदेउराली गाँउपालिकाले ७ लाख, गाँउपालिकाकाे वडा नम्बर २ काे वटपार खानेपानी आयोजनाका लागि जिससकाे १० लाख तथा गाँउपालिकाकाे ३ लाख, वडा नम्बर २ को वडा कार्यालय भवन निर्माणका लागि जिससकाे २५ लाख तथा गाँउपालिकाकाे २० लाख रुपैयाँ आर्थिक साझेदारी रहेकाे छ ।

अनुगमन टोलीले भुम्लु गाउँपालिकाको वडा नम्बर ८ मा रहेको दुलालेश्वर माध्यमिक विद्यालय र प्रकाश माध्यमिक विद्यालयमा एसईई परीक्षाको अनुगमन समेत गरेकाे थियाे ।

अनुगमनमा जिसस सदस्य कमलराज गिरी, चौरीदेउराली गाँउपालिका अध्यक्ष रेणुका चौलागाई, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय अधिकारी दिवाकर भुजेल, स्थानीय जनप्रतिनिधि लगायत सहभागि थिए ।