सिन्धुपाल्चोककाे पानी काभ्रेपलाञ्चाेककाे दुत्तीमा

चौंरीदेउराली । सिन्धुपाल्चोककाे पानी काभ्रेपलाञ्चोककाे चौंरीदेउराली गाउँपालिकामा खसेसँगै प्रधान बस्तिमा खुसियाली छाएको छ ।

सिन्धुपाल्चोक जिल्लाकाे लिसंखु पाखर गाउँपालिकाकाे पानी काभ्रेपलाञ्चोक जिल्लाकाे चौंरीदेउराली गाउँपालिकाकाे वडा नम्बर २ नाग्रे गगर्चेको दुत्तीमा आएपछि प्रधान बस्तिमा खुसियाली छाएको हाे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र चौंरीदेउराली गाउँपालिकाको लागत साझेदारी कार्यक्रम अन्तर्गत चौंरीदेउरालीकाे वडा नम्बर २ दुत्तीमा छिमेकी जिल्ला सिन्धुपाल्चोकमा रहेको मुहानबाट पानी ल्याई वटपार खानेपानी आयोजना सम्पन्न भएकाे हाे । लिसंखु पाखर गाउँपालिकाकाे आलुङमा रहेकाे साे खानेपानी आयाेजनाकाे मुहान चौंरीदेउराली वडा नम्बर २ काे प्रधान बस्तिबाट ४ किलोमिटरकाे दुरीमा रहेकाे छ । खानेपानीको अभाव रहेको प्रधान बस्तिका १५ घरमा अहिले धारा जडान भएका छन् । २०७२ को भुकम्पले आफुले प्रयोग गर्दै आएको पानीको मुहान सुकेपछि त्यस क्षेत्रका जनतालाई पानी लिन कै लागि घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता थियो ।

वटपार खानेपानी आयोजना जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोककाे १० लाख र चौंरीदेउराली गाँउपालिकाकाे ३ लाख रुपैयाँ आर्थिक साझेदारीमा सम्पन्न भएकाे हाे ।

आफ्नाे घरमै धारन आएपछि छोराछोरीलाई समयमा विद्यालय पठाउन, तरकारी खेती गर्न, सरसफाई गर्न निकै सजिलो भएको स्थानीय मान कुमारी प्रधानले बताईन् । साथै, अहिले घरमा धारा आउँदा आफुले धेरै सुख पाएकाे उनी बताउँछिन् ।

उक्त खानेपानी आयाेजनाकाे अनुगमन गर्ने क्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गाैतमले जनताकाे मन जित्न ठूलठूला आयाेजना नै हुनु पर्ने भन्ने नभएकाे बताएका छन् । जनताकाे आवश्यकता अनुसारका साना आयाेजनाले पनि उनीहरू खुसी हुने भन्दै प्रमुख गाैतमले आफू जनताकाे काममा नै रमाउने उनकाे भनाई थियाे ।