पनौती–खोपासी सडक निर्माणकाे लागि श्रोत सुनिश्चित नगरे अनसन बस्छु: अध्यक्ष भण्डारी

खोपासी । खाेपासी- तालदुङ्गा सडक खण्ड अन्तर्गत पनौती–खोपासी सडक निर्माणमा भईरहेको ढिलाई बारे जानकारी दिदैं पनौती वडा नम्बर १० का अध्यक्षले आमरण अनसन बस्ने चेतावनी दिएका छन्।

आईतवार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै पनाैती नगरपालिका वडा नम्बर १० का अध्यक्ष मोहनबहादुर भण्डारीले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । सडक चौडा गरिएकाे लामो समयसम्म पनि सडक निर्माणमा भईरहेको ढिलाईले धुलो र हिलोका कारण आवागमनमा नै समस्या भएपछि आजित भएर आफु आमरण अनसनमा बस्नु पर्ने अवस्था आएकाे भण्डारीले बताएका छन् । भण्डारीले २१ दिनभित्र पनि पनौती देखि क्लव घरसम्मको सडक कालोपत्रे गर्नको लागि श्रोत सुनिश्चित नगरे २०८१ वैशाख १६ गतेबाट वडाको सिमाना खोपासी पुलमा आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

भण्डारीले थपे- ‘वडा नम्बर १० वरिपरीका सबै सडक कालोपत्रे हुँदा पनौती खोपासी सडक कालोपत्रे भएन, यसका कारण हामीले धेरै सास्ती र गाली खानुपर्यो । ‘हामीले वडाले गर्न सक्ने केही रहेनछ, प्रत्येक वर्ष ५–१० लाखको ग्राभेल हालेर पनि केही हुने रहेनछ, २१ दिनसम्म पनि यो सडक कालोपत्रे हुने सुनिश्चिता भएन भने वैशाख १६ गतेबाट म आमरण अनसन बस्छु ।’

साे सडक प्रदेश अन्तर्गतको सडक भएको कारण वडा र नगरले बजेट विनियोजन गर्दा अपर्याप्त हुने भएकोले प्रदेश वा संघीय योजनामा पर्ने भन्दै स्थानीय वडाबासि धैर्य रहँदै आएकाे वडा अध्यक्ष भण्डारीले बताएका छन् ।

‘सो क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका पूर्वमन्त्री तीर्थ लामाले पहल गर्दै सो सडकको लागि १४ करोड ४६ लाख बराबरको बोलपत्र आव्हान हुने भन्ने खबरले खुशी भएका थियौं, तर पछि सरकार परिवर्तन भएपछि श्रोत सुनिश्चित हुन नसकेर काम अघि बढ्न नसकेको जानकारी आएको भण्डारीकाे भनाई छ ।

पनौती देखि क्लव घरसम्मकाे सडककाे दुरी ४ किलोमिटर छ ।