उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमन सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।

उद्योग तथा वाणिज्य कार्यालय धुलिखेलको व्यवस्थापनमा बुधवार धुलिखेलमा उपभोक्ता हकहित संरक्षण तथा अनुगमन सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया भएको हाे ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यता भएको अन्तरक्रियामा जिल्लाका १३ वटै स्थानिय तहका बजार अनुगमन समितिका प्रमुख र विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रियामा बोल्दै जिसस प्रमुख गौतमले नगरपालिकाका उपप्रमुख र गाउँपालिका उपाध्यक्षहरुले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई तीव्रता दिनुपर्ने भन्दै उनले एकले अर्को पक्षलाई आरोप प्रत्यारोप भन्दापनि आम उपभोक्ताको स्वास्थ्यसँग सरोकार राख्ने विषयमा सबै जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनु पर्ने बताए ।

गाैतमले थपे – ‘बजार अनुगमन कुनै एउटा पक्ष र निकायले मात्रै गरेर सम्भव छैन् । उद्योग र उपभोक्ता दुबै सजग हुनुपर्छ । विषयगत अनुगमनलाई अझ बढी प्रभावकारीताका साथ अनुगमन गर्न जरुरी छ । ‘प्रमुख गौतमले अनुगमन गर्ने संयन्त्र धेरै भए पनि प्रभावकारी हुन नसकेको वताँउदै उनले सकेसम्म अनुगमन गर्नै नपर्ने वतावरण बनाउन उद्योग व्यवसाय सञ्चालन गर्ने सवैलाई अभिमुखिकरण दिनुपर्ने वताए । साथै, उनले स्थानीय तहका उपप्रमुख/उपाध्यक्षको अध्यक्षतामा गठन भएको अनुगमन समितिले उपभोक्ता हकहित र संरक्षणमा विशेष ध्यान दिनुपर्ने वताए ।

यस्तै, प्रमुख जिल्ला अधिकारी शर्माले ठोस योजना बनाएर बजार अनुगमनलाई नियमित गरिने बताईन् । ‘यो अन्तरक्रियाबाट धेरै सुझावहरु आएका छन् । अनुगमनलाई नियमित गर्न ठोस योजना नै बनाएर जानेगरी पहल हुन्छ। यो सुझावले बजार अनुगमनलाई अझ बढी प्रभावकारी बनाउन मार्गदर्शन गरेको छ।’ प्रजिअ शर्माकाे भनाई थियाे । शर्माले विषयगत कार्यलयहरुलाई आफ्नो क्षेत्रको प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिएकि थिइन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले ब्यापारी र उद्योगीलाई तर्साउने गरी अनुगमन गरेर समस्याको समाधान हुँदैन भन्दै अनुगमन ब्यापारी र उद्योग मैत्री हुनुपर्ने बताए । राष्ट्रिय उपभोक्ता मञ्च काभ्रेका अध्यक्ष माधव श्रेष्ठले उपभोक्ता ठगी गर्नेलाई कारवाही गर्नुपर्ने बताएका छन् । उनले उपभोक्ता नठगिने जिल्ला बनाउन सबै पक्ष लाग्नुपर्ने बताए । त्यस्तै, उद्योग वाणिज्य संघ काभ्रेका महासचिव रविन्द्र वैदारले बजारको भन्दा उद्योगकै अनुगमन गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला स्तरीय बजार अनुगमन समितिका संयोजक सुवास पौडेलले उपभोक्ता संरक्षण ऐन २०७५, प्रदेश बजार अनुगमन समिति, उपभोक्ता संरक्षण ऐन तथा जिल्ला बजार अनुगमन समितिको काम, कर्तब्य र अधिकार लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । साथै, साना तथा घरेलु उद्योग कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय धुलिखेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेल लगायतका कार्यालयले बजार अनुगमनसँग सम्बन्धि प्रस्तुतिकरण गरेका थिए ।