किसानहरुमा उत्साह जागृत गर्दै सकियो बृहत् कृषि महोत्सव
बनेपा । मध्यपहाडी क्षेत्रकै व्यापारिक नगरी बनेपामा काभ्रे जिल्लाका किसानहरुमा सकारात्मक उत्साह जागृत गराउँदै बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव समापन भएको छ ।
कृषि उपज,कृषि औजार लगायतका स्टलहरुको व्यवस्थापन गरी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजनमा सञ्चालन भएको महोत्सव गत फागुन ४ देखि शुरु भएको थियो ।
महोत्सव समापनमा जिल्ला समन्वय समितिका प्रमुख दिपकुमार गौतमले महोत्सव अत्यन्त सफल भएको दाबी गर्दै कृषकहरुलाई पेशामा थप आकर्षण गर्न, कृषि र पशुपालनमा प्रविधि तथा नयाँ यान्त्रीकरणका बारेमा जानकारी दिन सफल भएको बताए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले शिक्षालाई व्यवहारिकतामा परिणत गर्न काठमाडौँ विश्वविद्यालयले स्थानीय सरकार, संघ संस्थासँग समन्वय गर्दै कृषि र पशुपालनका विषय पनि जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले कृषि क्षेत्रमा किसान तथा उनीहरुको उत्पादन प्रदर्शन, विक्री वितरण एवं बजारीकरण, कृषि यन्त्रबारे सूचना प्रदान गरी यन्त्रीकरण मार्फत् व्यवसायीकरण जस्ता विषयमा किसानहरुले सचेत हुने, लाभ लिने अवसर महोत्सवले दिएको बताए ।
समापन समारोहमा महोत्सवको अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगिताका विजेता विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने कृषि र पशुपालनसँग सम्बन्धित विषयमा भएको अन्तक्र्रिया कार्यक्रममा संयोजन गर्नेहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो । उत्कृष्ट कृषक तथा स्टल राख्नेहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टलहरु राखिएको थियो ।
कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वय, काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला समन्वय समितिका साथै बनेपा नगरपालिका, कृषि विकास कार्यालय काभ्रे, पशु सेवा कार्यालय, काभ्रेको आयोजनामा महोत्सव आयोजना गरिएको हो । जिल्लाका सबै स्थानीय सरकारहरुसँग समन्वय सहित स्थानीय किसान, कृषि संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
७० हजारभन्दा बढि दर्शकले अवलोकन गरेको महोत्सवमा करीब २ करोडको कारोबार भएको आयोजकले जनाएको छ ।
महोत्सवप्रति दर्शकहरुको आकर्षण बढाउन चर्चित कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो ।