बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सवको राष्ट्रपति पौडेलद्वारा उद्घाटन

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा शुक्रबारदेखि बृहत काभ्रेपलान्चोक कृषि महोत्सव एक औपचारीक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरी शुरु भएको छ ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र सम्बद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्ने बताएका थिए ।

बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाएर यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिन राष्ट्रपति पौडेलले आग्रह गरेका थिए ।

कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण/यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिएका थिए ।

राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको उनको भनाई छ । उनले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रमका बीच राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषकलाई पुरस्कृत गरेका थिए ।

काभ्रे जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी, बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको जिल्ला समन्वय समतिका प्रमुख दिपक गौतमले बताए ।

उनका अनुसार महोत्सवमा दर्शक आकर्षण तथा मनोरञ्जनका लागि चर्चित कलाकारहरुद्धारा सांस्कृतिक प्रस्तुति समेत रहने बताइएको छ ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टलहरु राखिएका छन् ।

कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वय,काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित बनेपा नगरपालिका तथा अन्य स्थानीय तहको समेत प्रत्यक्ष एवं सक्रिय सहभागितामा आयोजित महोत्सव यहि फागुन ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।