काभ्रेपलाञ्चोकमा जेठ १३ बाट आई.पि.भी. खोप लगाइने

जिल्लाका १७ हजार ७ सय ५९ जना बालबालिकाहरूलाई आई.पि.भी. खोप लगाउने लक्ष्य

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान यही जेठ १३ गतेबाट सञ्चालन हुने भएकाे छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई.पि.भी खोप अभियान २०८१ मा जिल्लाका १३ वटा स्थानीय तहका १७ हजार ७ सय ५९ जना बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेपलाञ्चोकले जनाएको छ ।

आई.पि.भी. खोप अभियान २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका पोलियो विरुद्धको खोप लगाउन छुट भएका बालबालिकाहरूलाई मात्र लक्षित गरि अभियान सञ्चालन गरिएकाे शुक्रवार धुलिखेलमा आयाेजित जिल्ला स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुको बैठकमा बताईएकाे थियाे ।

२०७३ जेठ देखि २०७५ भाद्रसम्म विश्वमा नै खोप आपुर्ति बन्द हुँदा २०७३ वैशाखदेखि २०७५ असाेजभित्र जन्मिएका बालबालिकालाई सुई मार्फत लगाइने पोलियो विरुद्धको खोप आई.पि.भी. छुट भएको थियो ।

जिल्ला स्तरीय खाेप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोका प्रमुख दिपक कुमार गाैतमले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखि अभियान सञ्चालन गरिएको बताउदै खोपबाट बालबालिकामा देखिने नकारात्मक असरको बारेमा समेत ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख रागिश्री कक्षपति श्रेष्ठले प्रस्तुतिकरण दिदैं आई.पि.भी. खोप लगाएपछि हुनसक्ने प्रतिकुल असरहरू लगायतका बारेमा जाजकारी दिदैं उनले यो खोप लगाएपछि केही व्यक्तिलाई सामान्य प्रकारका असरहरू देखिन सक्ने पनि जनाइन् । सुई लगाएको ठाउँमा दुख्ने, रातो हुने, सुनिने, ज्वरो आउने जस्ता असरहरू देखिन सक्छन् र प्रायः गरेर आफै ठीक हुन्छन्- उनकाे भनाई थियाे ।

यस्तै, खाेप अधिकृत पार्थमणि न्याैपानेले जिल्लामा ५ सय ११ वटा खाेप केन्द्रबाट खाेप अभियान सञ्चालन हुने बताए । उनले विद्यालयहरूमा खाेप केन्द्र बनाइ अभियान सञ्चालन हुने हुदाँ विद्यालयसंग समन्वय गरि समय निर्धारण गरिने बताएका छन् ।