धुलिखेल-खावा सडक २ दिन ४ घण्टा बन्द
अरनिको राजमार्ग सडक खण्ड अन्तर्गत (धुलिखेल जिरो किलो-खावा सडक)असार १८ गते सम्ममा ३ किलोमिटर कालोपत्रे हुने
काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग सडक खण्ड अन्तर्गत (धुलिखेल जिरो किलो-खावा सडक) भोली मंगलवार र बुधवार दिउँसाे २ दिन ४।४ घण्टा सडक बन्द हुने भएकाे छ ।
निर्धारित समयमा काम सम्पन्न हुन सकेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञचोकले सडक मर्मत कार्य छिटो सक्नको लागि बिहान ११ बजे देखी दिउँसो ३ बजे सम्म धुलिखेल खावा सडक दिनकाे ४ घण्टा सडक बन्द गर्ने निर्णय गरेकाे हाे ।
यही जेठ १० गते र ११ गते काभ्रेपलाञ्चोक जिल्लाकाे पलाञ्चोक भगवती र बनेपाकाे चण्डेश्वरी मन्दिरमा जात्रा हुने भएकोले सो दिनमा सडकको चापलाई मध्यनजर गर्दै सडक बन्द गर्ने निर्णय भएको थियो । साे समयमा (दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारी साधन बाहेक) सबै किसिमका यातायात सञ्चालन पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रशासनकाे सुचनामा उल्लेख छ ।
यसका साथै, बर्षातको मौसम नजिकिएसंगै सडकमा थप समस्या आउने भएकोले सडक मर्मतसंभार कार्यलाई छिटो सम्पन्न गर्नको लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवसायी, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, निर्माण व्यवसायी लगायतको उपस्थितिमा आज धुलिखेलमा भएको छलफलबाट आगामी असार १८ गते सम्ममा ४ किलोमिटर मध्य ३ किलोमिटर कालोपत्रे गर्ने सहमति समेत भएको हाे ।
साेमवार भएकाे छलफल कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमले राजमार्गको दर्दनाक अवस्थालाई मध्यनजर गर्दै सडक निर्माण कार्य सम्पन्न गर्नको लागि विगतदेखि आफुले पहल गर्दै आएकाे बताएका छन् ।
सोही छलफल कार्यक्रममा बेल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पहिलो चरणमा २ दिन सडक बन्द गरिएकाे र सडक निर्माणको गतिलाई मध्यनजर राख्दै अन्य दिनहरुमा पनि सडक बन्द गर्ने बिषयमा निर्णय लिने बताउनु बताइन् । यस्तै, सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख मेघनाथ मरासिनीले सडक मर्मतसंभार काय बिगतमा ढिलाे भएको भन्दैं हामी सवैको प्रयासमा अव विगतको जस्तो ढिला नहुने र तत्काललै टेण्डर खोलेको ४ किलोमिटर मध्य ३ किलोमिटर सडक कालो पत्रै हुनेमा दुबिधा नरहेको बताएका हुन् ।
४ किलोमिटर सडक स्तर उन्नतीको लागि भ्याट र पि एस सहित २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा गौरी पार्वती निर्माण सेवा प्रा.लिले २०७९ जेठ २० गते ठेक्का सकारेको थियो भने ०८० चैत्र १९ सम्ममा कार्य सम्पन्न गर्ने शर्त रहेको थियो ।
निर्धारित समय अवधिमा निर्माण कार्य सम्पन्न हुन नसक्दा समय थप भएको थियो ।