काभ्रेपलाञ्चोक कारागारलाई ५ सय थान पुस्तक हस्तान्तरण
धुलिखेल । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा रहेका बन्दीका लागि टिम नेपाेले पुस्तक हस्तान्तरण गरेको छ।
टिम नेपाेले बन्दीलाई कानूनी, शैक्षिक, व्यवहारिक लगायतका जनचेतना जगाउनुका साथै पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपोका कार्यकारी अध्यक्ष प्रदिप गिरीले बताएका छन् । नेपाेले बुधवार कारागार काभ्रेपलाञ्चोकलाई ५ सय थान पुस्तक हस्तान्तरण गरेकाे हाे ।
धुलिखेल नगरपालिकाका उप-प्रमुख निराजन जंगमकाे प्रमुख अतिथ्यतामा भएकाे पुस्तक हस्तान्तरण कार्यक्रममा बाेल्दै नेपाेका अध्यक्ष गिरीले पुस्तक परियोजना अन्तर्गग टिमले ४ वर्षदेखि कारागार केन्द्रित पुस्तक हस्तान्तरण कार्यक्रम गर्दै आएकाे बताए। पहिलोपटक अर्घाखाँची जिल्ला कारागारका बन्दीलाई पुस्तक हस्तान्तरण गरेको संस्थाले हाल देशभर रहेका कारागारमा क्रमशः पुस्तक सहयोग गर्दै जाने योजना अन्तर्गत ८ वटा जिल्लाका कारागारहरुमा पुस्तक हस्तान्तरण गरिसकेको बताउँदै गिरीले ९ औं अभियानका रूपमा काभ्रेपलाञ्चोक कारागारलाई पुस्तक हस्तान्तरण गरेकाे जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि जंगमले कारागारलाई समाजले नकारात्मक दृष्टिले हेर्ने भन्दैं कारागारलाई रुपान्तरण गर्न जरुरी रहेकाे तर्क गरे । त्यस्तै, कारागार प्रमुख परशुराम थापाले कारागारमा प्राप्त पुस्तक बहुउपयोगी हुने विश्वास लिएको र नेपोले कारागारका बन्दीदीलाई लक्षित गरी पुस्तक प्रदान गरेर सहयोग गरेको समेत बताएका छन् ।