काभ्रे उद्योग वाणिज्य संघको अधिवेशन: बैद्य समुहकाे प्यानल सार्वजनिक

बनेपा । आगामी जेठ १९ गते हुन गई रहेकाे काभ्रे उद्योग वाणिज्य संघको ४२ औं वार्षिक साधारणसभा तथा अधिवेशनको लागि अध्यक्षका उम्मेदवार प्रताप बैद्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।

बिहीवार बनेपामा पत्रकार सम्मेलन गर्दै प्रताप बैद्य समुहले आफ्नो प्यानल सार्वजनिक गरेको हो ।

बैद्य प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ग्रुवेन ताैजले , उपाध्यक्षमा उमेश शाक्य र बिकास शर्मा, महासचिवमा यश कुमार रंजपत, कोषाध्यक्षमा मान काजी प्रधान, मुख्य संयोजकमा राजेश कुमार श्रेष्ठ, सचिवमा कृष्ण लाल श्रेष्ठ, सह मुख्य संयोजकमा भिम प्रसाद आचार्य, सहकोषाध्यक्षमा श्याम कुमार भालु र सहसचिवमा सराेज काजी श्रेष्ठ रहेका छन् ।

यस्तै, खुल्ला कार्य समिति सदस्यमा राजन ढकाल, जंग बहादुर महत, नरेश राज कायष्थ, राेशन खुप्पा श्रेष्ठ, श्याम सुन्दर कुवँर, विश्वजित भालु श्रेष्ठ, मिन बहादुर कर्माचार्य, सुमन चाै प्रधान, बिष्णु प्रसाद नराल र गाैतम मानन्धर रहेका छन् । साेही समुहबाट बनेपा संयाेजकमा लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् ।

पत्रकार सम्मेलनमा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार प्रताप बैद्य समुहले जारी गरेकाे प्रेस विज्ञप्ति निम्नानुसार छ :

आगामी जेठ १९ गते हुन गई रहेकाे काभ्रे उद्योग वाणिज्य संघको ४२ औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । काभ्रेली उद्योगी व्यापारीहरुको हकहित र व्यवसायिक प्रवर्द्धनमा साधारण सभाले विशेष योजना बनाउने विश्वास व्यक्त गर्दछु । काभ्रेमा औद्योगिक वातावरण निर्माण गर्न, लगानी र नयाँ प्रविधि भित्राउन निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायिक हकहित र अधिकारका लागि आफूले भुमिका निर्वाह गर्ने विश्वास दिलाउन चाहन्छु।

अहिले काभ्रे उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । मुलुक आर्थिक मन्दीको चपेटामा परिरहेको छ । त्यसको प्रत्यक्ष असर काभ्रेका उद्योगी व्यापारीले पनि झेलिरहेका छन् । यो अवस्थामा काभ्रेका उद्योग व्यापारीसँग हातमा हात राख्दै र साथमा साथ लिदै म प्रताप वैद्यको नेतृत्वमा काभ्रे उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गराइसकेका छौं । हामी यस्तो विषम परिस्थितिमा उद्योगी, व्यवसायीहरुले झेलिरहेको समस्या समाधान गराउन योजना बोकेर निर्वाचनमा होमिएका छौं ।

सरकारको तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाका रुपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त बनाउन तीव्र आर्थिक विकास र सुशासनसहितको उत्तरदायी राज्य व्यवस्थामा सघाउन काभ्रे उद्योग वाणिज्य संघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिवद्ध छौ ।

सम्पत्तिमा निजी क्षेत्रको हकलाई विश्वासिलो बनाउन, काभ्रेली स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर काभ्रेमा लगानीलाई आकर्षित गर्ने र काभ्रे उद्योग वाणिज्य संघलाई विश्वासिलो, भरपर्दो र गतिशील बनाउने नै छौं ।

निजी क्षेत्रसँग जति धेरै सहकार्य गर्यो त्यति नै देशको आर्थिक विकास सम्भव हुन्छ । निजी क्षेत्र आर्थिक विकास र रोजगारीका लागि इन्जिन जस्तै भएकाले संघमा रहेर निजी क्षेत्रको हकहितका लागि काम गर्न प्रतिवद्ध छौं ।

पत्रकार साथीहरु, अरनिको राजमार्ग विस्तारले गर्दा व्यवसायीहरुलाई पर्ने समस्याको समाधानका लागि सरोकारवाला निकायसंग समन्वय गरी काम गर्ने हाम्रो मुख्य ध्येय रहनेछ । बजार अनुगमनमा उद्योग वाणिज्य संघको अनिवार्य सहभागिता सँगै प्रभावकारी ढंगले अनुगमन अगाडी बढाउने कार्यमा हामीले ठोस योजना बनाएर अघि बढ्ने छौ । युवा तथा महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरी सक्षम उद्यमी बनाउने र स्वरोजगार बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने छौं । सुरक्षित व्यवसायको लागि सिसि क्यामेरा जडान गर्ने र भएकालाई मर्मत र सुचारु राख्ने कार्यमा प्राथमिकतामा राखेर प्रहरी प्रशासनसँग पनि समन्वय गर्नेछौं ।

नेपाल कृषि प्रधान देश भएकाले काभ्रे उद्योग वाणिज्य संघ मार्फत् जिल्ला भरिको लागि चाहिने रासायनिक मल उपलब्ध गराउन नेपाल सरकारसँग पहल गरिने छ साथै हामी कहाँ उत्पादन भएका कृषि सामाग्रीलाई जोड दिँदै उत्पादन संगसंगै बजारको सुनिश्चितता गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्नेछौं । अन्य चेम्बर अफ कमर्स, सरकारी एजेन्सीहरू, स्थानीय, प्रदेश र केन्द्र सरकार सँगै सामुदायिक संघ संस्थाहरूसँगको सहकार्यलाई प्राथमिकता दिदै स्थानीय व्यवसायीहरूको लागि थप अवसरहरू सिर्जना गर्न स्रोतहरू पहिचान गर्ने कुरामा हाम्रो विशेष ध्यान रहनेछ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारिक मेला, महोत्सवमा स्थानीय व्यवसायी र उत्पादनलाई समावेश गराउन पहल गर्ने र त्यस्ता कार्यमा काभ्रेको उत्पादनमा विशेष ध्यान दिनेछौं । व्यवसायीहरुको बैकिङ्ग समस्याहरु विकराल बन्दै गएको छ । नयाँ ऋण लिनेलाई सस्तो व्याजमा अफर गरे पनि पुराना ऋणीहरुको व्याज जुन तरिकाले घट्नु पर्ने हो सो भएको छैन यसका लागि सबै व्यवसायीहरुको व्याजको समस्या, किस्ता तिर्न नसकेको समस्यालाई हाम्रो टिमले जोरदार आवाज उठाउने छ । अहिलो अर्को विमाले धेरै समस्या दिएको छ । विमा दर हिजोको भन्दा दोब्बरले वृद्धि भएको छ । यस्मा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो बिमा दर घटाउनको लागि हाम्रो तर्फबाट पूर्ण रुपमा पहन हुने छ ।

हाम्रो मुख्य लक्ष्य भनेकै अहिले आर्थिक मन्दिमा परेका व्यवसायीहरुलाई नयाँ प्रविधि लगाएत नयाँ तरिकाले व्यापार, व्यवसाय गराउन, आ-आफ्नो वस्तुगत व्यवसायलाई लक्षित गरि छुटा छुटै तालिमहरु गर्दै जानेछौँ । व्यापार – सहजीकरण गर्ने र कर तथा मिस म्याचको समस्या समाधानका लागि अहोरात्र समय दिने व्यवसाय संचालनका निम्ति वैडिङ कार्यका लागि हाम्रो प्रतिवद्धता रहनेछ । बन्द रहेका उद्योगहरुलाई संञ्चालन गर्ने वातावरण तयार गर्न पहल गर्ने र सदैव व्यवसायिक हकहितको लागि मात्रै काम गर्ने हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।

म प्रताप वैद्य नेतृत्वको समुहबाट लामो समयदेखि काभ्रेमा उद्योग व्यापार व्यवसायमा संलग्न रहेर व्यवसायिक हितका लागि कृयाशील साथीहरुले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, मुख्य संयोजक, सचिव, सहमुख्य संयोजक, सह सचिव, सहकोषाध्यक्ष र कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । हाम्रो यो टिमले सन्तुलित सबै क्षेत्र, भेग र व्यवसायलाई समेटेको छ । यो टिमलाई विजयी गराई काभ्रे उद्योग वाणिज्य संघलाई थप उचाईमा पुऱ्याउन समस्त काभ्रेका उद्योगी व्यवसायीलाई हार्दिक अनुरोध गर्दछौं ।