अञ्जनको ह्याट्रिकसँगै नयाँ रेकर्ड, बंगलादेशमाथि नेपालको जित

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टले ह्याट्रिकसँगै नयाँ रेकर्ड राख्न सफल भएका छ्न् ।

उनले खेलको ३८औं मिनेटमा नै ह्याट्रिक पूरा गरेका हुन् । यसका साथै नेपालको राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्नेमा भरत खवास र विमल घर्तीमगरको ९-९ गोलको रेकर्ड समेत तोडेका छन् । उनले नेपालको तर्फबाट १० गोल पूरा गरेका छन् । अञ्जनले खेलको १९औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् । त्यस्तै, २७औं मिनेटमा तेज तामाङको प्रहार बंगलादेशी गोलकिपर अनिसुर रहमानले बञ्च गरेपनि रिबाउन्ड बलमा अञ्जनले पुन: गोल गरेका थिए ।

खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पूरा गरेका थिए । अन्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटाैँ खेलाडी समेत बनेका छन् । यसअघि गणेश थापा, नरेश जाेशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए ।

खेलको ५७ औं मिनेटमा बंगलादेशले गोल फर्काएको थियो । रकिब हुसेनको क्रसमा मोहम्मद टुटुल हुसेन बादशाहले हेडर गोल गरेका थिए । निर्धारित ९० मिनेटमा नेपालले बंगलादेशलाई ३-१ ले पराजित गरेको छ ।