कीर्तिमान बनाउँदै विश्वकप फाइनलमा पुग्यो पूर्वविजेता फ्रान्स
कतार । फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २–० ले पराजित गर्दा विभिन्न कीर्तिमान बनाउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ ।
सन् २००२ मा ब्राजिल र सन् १९९० मा जर्मनीले लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गरेको कीर्तिमानसँग यो पटक युरोपेली मुलका फ्रान्सले बराबरी गरेको छ । लगातार दोस्रो पटक फाइनल खेल्ने दोस्रो युरोपियन मुलुक फ्रान्स बनेको छ ।
साथै सन् १९९८ पछि सन् २००६, २०१८ र २०२२ मा गरेर चार पटक फाइनल पुगेको फ्रान्सले २४ वर्षको अवधिमा ४ पटक फाइनल पुग्ने पहिलो राष्ट्रको रुपमा आफ्नो नाम लेखाउन समेत सफल भएको छ ।
हिजो भएको खेलको ५ औं मिनेटमा थिओ हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई १–० को सुरुवाती अग्रता दिलाएको थियो । खेलको ७९ औं मिनेटमा कोलो मौनीले गोल गर्दा २–० ले फ्रान्सले खेल आफ्नो पक्षमा पारेको हो ।
६२ प्रतिशत बल पोसेसन मोरोक्कोले आफ्नो पक्षमा पार्दा १३ सटमा ३ वटा सट प्रहार अन टार्गेट भएपनि कुनै पनि गोल गर्न भने सकेनन् ।
फ्रान्सले अब फाइनलमा दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको सामना गर्नेछ भने मोरोक्कोले तेस्रो स्थानका लागि क्रोएसियाको सामना गर्नेछ ।