ओस्कारका लागि ‘ऐना झ्यालको पुतली’ छनोट

काठमाडौं । फिल्मकर्मीमाझ सर्वाधिक ठूलो प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय पुरस्कार ओस्कार अवार्डमा नेपालका तर्फबाट सहभागी गराउन फिल्म ‘ऐना झ्यालको पुतली’ छनोट भएको छ ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले उक्त अवार्डमा सहभागिताका लागि प्राप्त तीन फिल्ममध्ये यसलाई छनोट गरको हो । छनोटको सिफारिसमा परका फिल्महरूमा दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापाको ‘राधा’ पनि थिए । समितिमा प्राप्त भएका तीन फिल्महरू एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय पाइएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउन ऐना झ्यालको पुतलीलाई छनोट गरिएको’ पनि समितिले जनाएको छ । सुजित बिडारीद्वारा निर्देशित यो फिल्ममा दिदीभाइको सम्बन्ध देखाइएको छ । समीक्षात्मक रूपले रुचाइएको फिल्ममा बालकलाकार कञ्चन (लक्ष्मी) चिमरिया, दिनेश खत्री, विशाल चाम्लिङ राई, उमेश श्रेष्ठ र राज थापाको अभिनय छ ।

त्यस्तै पुराना कलाकार सिरु विष्ट, पदमप्रसाद पौडेलको पनि अभिनय देख्न सकिन्छ । प्रदर्शनरत यो फिल्मबाट निर्देशक बिडारीले २० औं अन्तर्राष्ट्रिय ढाका फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितिसकेका छन् । यो फिल्म बुसानको न्यु करेन्ट सेक्सनमा पनि छनोट भएको थियो । फिल्मको कथा २०७२ वैशाखको भूकम्पपछि निर्देशक बिडारी आफैंले लेखेका हुन् । (आजको कान्तिपुर दैनिकमा प्रकाशित)