नयाँ वर्षमा खानीखोला कप खेलकुद प्रतियाेगिता हुदैं
खानीखाेला । जिल्लाको विकट खानीखोला गाउँपालिकाले नयाँ वर्षको अवसरमा खानीखोला कप खेलकुद प्रतियोगिता गर्ने भएको छ ।
पालिकाले २०८० बैशाख १ गतेदेखि ३ गतेसम्म ‘प्रथम खानीखोला कप खेलकुद प्रतियोगिता’ आयोजना गर्ने भएको हाे ।
तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिवल र कँराते समावेश गरिएकाे गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । फुटबल र भलिवलमा प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष थिङले बताए । यस्तै कँरातेतर्फका प्रथम, द्धितीय र तृतीय हुने खेलाडीले जनही १० हजार, ७ हजार र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । कराँतेमा पुरुषतर्फ २५ केजीदेखि ६० र महिलाफर्फ २५ देखि ५५ सम्मका तौल समुहले प्रतियोगितामा सहभागी हुन पाउने जनाइएकाे छ ।
फुटबल र भलिवल प्रतियोगिता वडास्तरीय तथा कँरातेतर्फ पुरुष र महिला दुवै खेल खुल्ला हुने बताइएकाे छ ।
खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाले प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई गाउँपालिकाको टिममा समावेश गरिने बताए । पुर्व उर्जा राज्य मन्त्री तथा संघीय संसद् सुर्यमान दोङ (लालध्वज)ले प्रतियोगिताको उद्घाटन गर्ने गरी खेलको तयारी भएको संयोजक लामाले जानकारी दिए ।
गाउँपालिकाको केन्द्र ताल्ढुंगामा हुने सबै विधाको प्रतियोगिता फिभा र फिफाको नियमअनुसार खेलाइने आयोजकले जनाइएको छ ।