इङ्गल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले रच्यो इतिहास

भारत । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा अफगानिस्तानले जित हात पार्दै इतिहास रच्न सफल भएको छ ।

टस जितेर पहिले फिल्डिङ्ग रोजेको इङ्गल्याण्डलाई ६९ रनले पराजित गर्दा अफगानिस्तानले विश्वकपमा पहिलो जित हात पारेको हो । पहिले ब्याटिङ्ग गरेको अफगानिस्तानका लागि रहमनुल्लाह गुर्बाजले आक्रामक ब्याटिङ्ग गर्दै ५७ बलमा ८० रन र एक्रम अलिखिलले ५८ रन बनाउँदा ४९ ओभर ५ बलमा २८४ रन बनाउन सकेको थियो । इङ्गल्याण्डको लागि अदिल रसिदले १० ओभरमा १ ओभर मेडियन सहित ४२ रन खर्चेर ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्ग इङ्गल्याण्डले ४० ओभर ३ बलमा मात्र २१५ रन बनाउन सकेको थियो । अफगानिस्तानको जितको लागि रसिद खानले ३७ रन खर्चेर ३ र मुजिब उर रहमानले ५१ रन खर्चेर ३ विकेट लिएका थिए । इङ्गल्याण्डको तर्फबाट ह्यारी ब्रुकले ६६ र डेभिड मलानले ३२ रन बनाएका थिए ।

यससँगै दुवै राष्ट्रले ३ खेलमा १–१ जित हात पारेका छन् भने तालिकामा नेटरनरेटको आधारमा इङ्गल्याण्ड पाँऔं र अफगानिस्तान छैटौं स्थानमा रहेका छन् ।

स्मरण रहोस्, तेस्रो पटक विश्वकप खेलेको अफगानिस्तानको विश्वकपमा जित हात पारेको यो दोस्रो खेल हो । यसअघि सन् २०१५ को विश्वकपमा स्कटल्याण्ड विरुद्ध १ विकेटले जितेको थियो ।

विश्वकप क्रिकेट अन्तर्गत भोलि अष्ट्रेलिया र श्रीलंका भिड्नेछन् ।