करणले लिए ४ विकेट, नेपालद्वारा हङ्गकङ्ग ६ विकेटले पराजित
मुलपानी । काठमाडौं मुलपानीमा जारी त्रिकोणात्मक टीट्वान्टी श्रृंखलाको दोस्रो खेलमा आज नेपालले हङ्गकङ्गलाई ६ विकेटले पराजित गरेको छ ।
जारी प्रतियोगितामा यो नेपालको दोस्रो जित हो । टस हारेर पहिले ब्याटिङ्ग आमन्त्रण पाएको हङ्गकङ्गले पहिलो बलमा नै विकेट गुमाएको थियो । हङ्गकङ्गको लागि यासिम मुर्ताजाले ३६ बलमा ३६ रन र जिसन अलिले २० बलमा १७ रन बनाएका थिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेको थिएन । हङ्गकङ्गले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सकेको थियो । नेपालको लागि करण के.सी.ले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिएका थिए भने सोमपाल कामी र अभिनास बोहराले समान २–२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्ग नेपालले मात्र १३ ओभर ५ बलमा ४ विकेट गुमाएर विजयलक्ष्य प्राप्त गरेको थियो । हङ्गकङ्गको लागि इसान खानले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिएका थिए । नेपाललाई जित दिलाउन आशिफ सेखले ३४ बलमा ४२ रन र कप्तान रोहित पौडेलले २० बलमा एक चौका र दुई छक्का सहित अविजित २५ रनको पारी खेलेका थिए । अन्य ब्याट्सम्यानहरुमा नेपालका लागि कुशल भुर्तेलले ८ बलमा ८ रन, कुशल मल्लले ६ बलमा १ रन, गुल्सन झाले ५ बलमा दुई छक्का सहित अविजित १४ रन र सन्दिप जोराले ११ बलमा ३ रन बनाएका थिए ।
अब आगामी कार्तिक ४ गते नेपालले पुनः हङ्गकङ्गको नै सामना गर्नेछ । उक्त खेल नेपाल जितेमा फाइनलमा स्थान बनाउने पहिलो टोली बन्नेछ ।