बनेपामा चंगा चैट प्रतियोगिता, सरिन्द्र भए प्रथम
बनेपा । दसैंको अवसर पारेर रोट्रयाक्ट क्लब अफ बनेपाले ‘चंगा चैट’ प्रतियोगिता सम्पन्न गरेकाे छ।
शनिबार बनेपा नगरपालिका वडा नम्बर ९ मगरगाउँमा भएकाे ‘चंगा चैट’ प्रतियोगितामा सरिन्द्र श्रेष्ठ प्रथम भएका छन् । प्रतियोगितामा जयराम मानन्धर फ्रस्ट रनरअप र असिम प्रजापति सेकेण्ड रनरअप भएका छन् ।
चंगा चैट प्रतियोगितामा १५ वर्षसम्मको उमेर समूहमध्येबाट सुहन मानन्धर प्रथम भएका छन् ।
‘चंगा उडाऔं, संस्कृति जोगाउऔं’ भन्ने नाराका साथ आयाेजना भएको प्रतियोगिताको बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा बाेल्दै बादेले विगतमा धान पाकेर घर भित्र्याउने परम्परासंगै चंगा उडाउने काम हुने गरेकोमा पछिल्लो समय लोप हुँदै गएको बताए ।
अहिले ठीक समयमा चंगा उडाउने प्रतियोगिता राखेर नयाँ पुस्तालाई पुरानो संस्कृति जोगाउने काममा प्रेरित गरेकाे बताँउदै याे प्रतियाेगिता संस्कृतिको महत्वपूर्ण सिकाई बनेको बादेले बताएका छन् । उनले स्थानीय कला संस्कृति जोगाउने काम स्थानीय सरकारको भएकाले आगामि दिनमा यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने काममा स्थानीय सरकार लाग्न आवश्यक रहेको बताए ।
यस्तै, अहिलेकोे युवाहरु आफ्नो संस्कृति बचाउन भन्दा पनि घुम्ने र खानपानमा नै रमाइलो मान्ने गर्दै आएको कारण लोप हुँदै गएको संस्कृतिलाई संरक्षण गर्न र युवापुस्तामा यसको महत्व बुझाउनको लागि चंगा चैट(चंगा महोत्सव) आयोजना गरेको रोट्रयाक्ट क्लब अफ बनेपाका अध्यक्ष रोभेन तौजलेकाे भनाई थियाे । साथै, प्रतियोगिताकाे संयोजक समेत रहेकी क्वलकी सेक्रेटरी सदिक्षा धितालले लोप हुन थालेको संस्कृति जगेर्ना गर्ने उद्धेश्यले विभिन्न संघ संस्थाहरुको सहयोगमा १० वर्षदेखि चंगा चैट प्रतियोगिता आयोजना गर्दै आएको बताईन् ।
प्रतियोगितामा १५ वर्षसम्मका उमेर समूहतर्फ १५ जना र साेभन्दा माथिका उमेर समूहतर्फ ५५ जनाले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।