बंगलादेशलाई १ सय ४९ रनले हराउँदै दक्षिण अफ्रिका दोस्रो स्थानमा उक्लियो

भारत । भारतमा जारी एकदिवसीय विश्वकप क्रीकेट अन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४९ रनले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

५ खेलमा ४ मा जित निकाल्दै ८ अंक बटुलेर दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । दक्षिण अफ्रिकाको नेट रन रेट २.३७० रहेको छ भने ५ खेलमा ४ जित निकाली ८ अंक बनाएका न्युजिल्याण्डको नेट रनरेट १.४८१ रही अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । अंक तालिकाको शीर्षस्थानमा ५ खेलमा ५ जित निकाली भारत रहेको छ । बंगलादेश अंक तालिकाको पुछारमा पुगेको छ ।

यसअघिको खेलमा न्युजिल्याण्डलाई भारतले पराजित गरेको थियो भने दक्षिण अफ्रिकालाई नेदरल्याण्डले पराजित गरेको थियो ।

आज भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले सुरूवाती क्रममा ३६ रन बनाउँदा २ विकेट गुमाई सकेको थियो । कप्तान इडेन माक्रमले ६९ बलमा ६० रन र क्विन्टन डी ककले १४० बलमा १७४ रन बनाएका थिए ।

यस्तै, अन्तिम समयमा क्विन्टन डी कक, हेनृच क्लासेन (४९ बलमा ९० रन) र डेभिड मिल्लर (१५ बलमा अविजित ३४ रन) का आक्रामक ब्याटिङ्गको मद्दतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३८२ रन बनाएका थिए । बंगलादेशको लागि हसन महम्मुदले २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्गमा उत्रिएको बंगलादेशले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर मात्र २३३ रन बनाउन सकेको थियो । जसका लागि मेहमुदुल्लाहले १ सय ११ रन, लिटन दासले २२ रन, नासुम एहमदले १९ रन बनाएका थिए । कप्तान साकिब अल हसन १ रन र होस्सेन सान्टो शून्य रनमा पेभेलियन फर्किएका थिए ।

दक्षिण अफ्रिकाको जितका लागि जेराल्ड कोट्जीले ३ तथा म्याक्रो जेन्सेन, लिजाड विलियम्स र खागिसो रबाडाले समान २-२ विकेट लिएका थिए ।

विश्वकप अन्तर्गत भोलि अष्ट्रेलियाले नेदरल्याण्डको सामना गर्नेछ । भोलि हुने उक्त खेलमा दुबैले जित निकाली सेमिफाइनल स्थानको सम्भावना बलियो बनाउनेछ ।