म्याक्सवेलको विश्व कीर्तिमान, अष्ट्रेलियाको ऐतिहासिक जित

भारत । भारतमा जारी एकदिवसीय क्रीकेट विश्वकपमा ग्लेन म्याक्सवेलले ४० बलमा शतक प्रहार गरी विश्वकपमा सबैभन्दा थोरै बलमा शतक बनाउने विश्व कीर्तिमान बनाएका छन् ।

यता डेभिड वार्नरले शतक प्रहार गर्दा विश्वकपमा ६ शतक प्रहार गर्ने भारतीय सचिन तेन्डुलकरसँग बराबरी गरेका छन् भने सबैभन्दा बढी ७ शतक प्रहार गर्नेमा भारतीय रोहित शर्मा रहेका छन् ।

यससँगै अष्ट्रेलियाले सबैभन्दा धेरै रन अन्तर (३०९ रन) ले नेदरल्याण्ड विरूद्ध जित्दा अर्को विश्व कीर्तिमान बनाई ऐतिहासिक जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३९९ रन बनाएका थिए । जसका लागि डेभिड वार्नरले ९३ बलमा ११ चौका र ३ छक्का सहित १०४ रन बनाएका थिए भने ग्लेन म्याक्सवेलले ४४ बलमा ९ चौका र ८ छक्का सहित १०६ रन बनाएका थिए । नेदरल्याण्डका लागि लोगन भ्यान विकले ४ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्गमा नेदरल्याण्ड २१ ओभरमा ९० रनमा समेटिएका थिए । नेदरल्याण्डका लागि बिक्रमजित सिंहले २५ रन बनाएका थिए भने अष्ट्रेलियाका लागि एडम जाम्पाले ३ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएका थिए । यस्तै, मिचेल मार्सले २ विकेट लिएका थिए ।

विश्वकप अन्तर्गत भोलि इङ्गल्याण्डले श्रीलंकाको सामना गर्नेछ ।