यूएनका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा, उच्चस्तरीय भेटवार्ता आजै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् ।

राति एक बजे काठमाडौँ आएका महासचिव गुटरेसलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । गुटरेले आजै महत्वपूर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्रीकाे कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गर्नेछन् । भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् ।

आगामी मङ्गलबार अपराह्न ४ः०० बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।