दक्षिणअफ्रिकालाई पराजित गर्दै अष्ट्रेलिया आठौं पटक विश्वकपको फाइनलमा
कोलकत्ता । दक्षिणअफ्रिकालाई ३ विकेटले पराजित गर्दै अष्ट्रेलिया एकदिवसीय क्रीकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
हालसम्म फाइनलमा पुग्न नसकेको दक्षिणअफ्रिका पुन: यस संस्करणमा पनि सेमिफाइनलबाटै बाहिरिएको छ भने १३ औं संस्करणमा अष्ट्रेलिया यो आठौं पटक फाइनल पुगेको हो । यसअघि ७ पटक फाइनल खेलेको अष्ट्रेलियाले ५ पटक उपाधि उचालिसकेको छ ।
आइतबार हुने विश्वकपको फाइनलमा अष्ट्रेलियाले भारतको सामना गर्नेछ । सन् २००३ मा दक्षिणअफ्रीका, केन्या र जिम्बाब्वेको संयुक्त आयोजनामा भएको विश्वकप क्रीकेटको फाइनलमा पनि यिनै दुई राष्ट्रहरू भिडेका थिए । सन् २००३ मा १ सय २५ रनको फराकिलो अन्तरले भारतलाई पराजित गर्दै अष्ट्रेलियाले उपाधि चुमेको थियो ।
आज भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको दक्षिणअफ्रिकालाई २१२ रनमा रोक्न अष्ट्रेलिया सफल भएको थियो ।
दक्षिणअफ्रिकाका लागि डेभिड मिलरले १०१ रनको पारी खेलेका थिए भने अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सले ३-३ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा अष्ट्रेलियाले ४७ ओभर २ बलमा लक्ष्य हासिल गरेको हो । अष्ट्रेलियाका लागि ट्राभिस हेडले ६२ रन र स्टिभन स्मिथले ३० रन बनाएका थिए । दक्षिणअफ्रिकाका लागि ताब्रेज साम्सी र जेराल्ड कोट्जीले २-२ विकेट लिएका थिए ।