काभ्रेको धुलिखेलमा क्याटेगोरी ४ फुटवलकाे रेफ्रि कोर्ष हुदैं
धुलिखेल । बागमती प्रदेश फुटवल संघ र बागमती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा माघ २१ गते देखी २७ गते सम्म क्याटेगोरी ४ फुटवल रेफ्रि कोर्ष २०८० हुने भएकाे छ ।
अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा काभ्रेको सदरमुकाम धुलिखेलमा हुने आधारभुत जिल्ला स्तरीय रेफ्रि कोर्षको उद्देश्य रेफ्रिहरुलाई फुटबल सम्बन्धि आधारभुत शिप र प्रविधिको विकास गर्न तालिम संचालन हुन लागेकाे जनाइएकाे छ । साे प्रशिक्षण सत्र रेफ्रीहरुलाई व्यवस्थित रुपमा शिक्षित गर्न र रेफ्रिहरुलाई नैतिक र व्यवहारिक कार्य गर्न निर्देशित गरिनुका साथै रेफ्रीहरुलाई खेल मैदान भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने तालिम प्रदान गरिने आयाेजकले बताएकाे छ । प्रशिक्षण पश्चात परीक्षामा उतिर्ण परिक्षार्थी रेफ्रीहरूहरुले जिल्ला स्तरिय विभिन्न फुटबल प्रतियोगिताहरुमा निर्णायक हुन सक्नेछन् ।
लाइसेन्स रेफ्री कोर्षमा सहभागी हुनकाे लागि खेलाडी, पूर्व खेलाडी तथा फुटबल खेलसंग आवद्ध भएका इच्छुक व्यक्तिहरु हुनु पर्ने शुक्रबार धुलिखेलमा आयाेजित पत्रकार सम्मेलनमा बताईएकाे छ । ७ दिनसम्म चलेने प्रशिक्षण कार्यक्रममा व्यवहारिक र सैद्धान्तिक दुबै परीक्षा हुनेछ । प्रशिक्षणमा सहभागी रेफ्रिहरु दुबै कक्षामा अनिवार्य उपस्थित रहनुपर्नेछ । प्रशिक्षार्थी रेफ्रिहरुलाई खाना, आवास तथा आवश्यक पोशाकका साथ खेलकुद सामाग्री प्रदान गरिनेछ ।
प्रशिक्षण कार्यक्रममा रसुवा र रामेछाप संघमा नरहेकाले अन्य जिल्लाबाट सिफारिस भएर आउनु पर्ने बताईएकाे छ । प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट ३ जना सहित गरेर ४० जनालाई प्रशिक्षक बनाउने जनाईएकाे छ । यस्तै, काभ्रे जिल्लाबाट १३ जनाकाे सहभागीता रहने छ ।