मन्त्री लम्सालद्वारा यातायात ब्यवस्था कार्यालय खुर्कोटकाे ट्रायल सेन्टर उद्घाटन

खुर्कोट । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा रहेको यातायात ब्यवस्था कार्यालयकाे ट्रायल सेन्टरकाे उद्घाटन भएको छ ।

शुक्रवार एक कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले ट्रायल सेन्टरको उद्घाटन गरेका छन् ।

मन्त्री लम्सालले ट्रायल सेन्टरकाे उद्घाटन गर्दै प्रयोगात्मक परीक्षालाई भरपर्दो र मर्यादित बनाउन कर्मचारी, प्रहरी र ट्रायल सेन्टर सञ्चालकलाई निर्देशन दिएका छन् ।

उनले थपे- ‘आफ्नो ईमान र इज्जतमा कुनै किसिमको आरोप र आपेक्ष लाग्ने गरी काम नगर्नु होला । काँही कतै समस्या नहुने गरी, कुनै पनि तहबाट गुनासो नआउने गरी काम गर्नु होला । राम्रो सेवा दिएर सेवाग्राहीलाई खुशी प्रदान गर्नुहोस् । यो कार्यालय नयाँ भएकाले शुरुमै राम्रो कामको सिस्टम बसालन सक्यो भने पछिसम्मलाई त्यसको असर पर्छ ।’

मन्त्री लम्सालले यातायात ब्यवस्था कार्यालयको आफ्नै भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिन स्थानीय सरकारसँग आग्रह गर्दै यो कार्यालयले सिन्धुली, रामेछाप, ओलखढुंगा सहित आसपासका जिल्लाका नागरिकलाई सेवा प्रदान गर्ने बताएका छन् । अझ यसको सेवालाई राम्रो र प्रभावकारी बनाउन आफ्नै भवन हुँदा सहज हुन्छ । त्यसका लागि स्थानीय सरकारले जग्गा उपलब्ध गराइदियो भने भवन निर्माणका लागि प्रदेश सरकारले बजेटको सुनिश्चित गर्छ । मन्त्री लम्सालले भने।

उनले यातायात कार्यालयहरुबाट प्रदान गरिने धेरै जसो सेवाहरु अब अनलाईन प्रणाली मार्फत हुने र बागमती प्रदेशभित्रका निजी सवारी साधनको नवीकरण, राजस्व, बिमा र जरिवानाको रकम भुक्तानी गर्न अनलाइन ब्यवस्था शुरु गरिसकेकाे बताए ।

२०७९ मा स्थापना भएको यातायात ब्यवस्था कार्यालय खुर्कोटमा प्रयोगात्मक परीक्षा (ट्रायल) को ब्यवस्था थिएन । शुक्रवारबाटै प्रयोगात्मक परीक्षा समेत शुरु भएको छ । दुई पांग्रे र चार पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा खुर्कोटमै हुनेछ ।