रेयूकाई र केयुवीच सहकार्य गर्ने सम्झौता, अस्पताललाई लिफ्ट हस्तान्तरण

बनेपा । रेयूकाई एईकाे मासुनागा आँखा अस्पताल र काठमाडौं विश्वविद्यालय (केयु) वीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

चिकित्सा र सम्बन्धित विषयहरूमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउने उद्देश्यले संयुक्त पहलहरूमा सहकार्य गर्न अस्पताल र विश्वविद्यालयवीच सम्झौता भएको हाे । मंगलवार अस्पतालका अध्यक्ष मधु प्रसाद आचार्य र काठमाडौं विश्वविद्यालयका तर्फबाट स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा.मनोज हुमागाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै, मंगलवार नै जिल्ला समन्वय समिति (जिसस) र बनेपा नगरपालिकाको आर्थिक सहयोग तथा काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा रेयुकाई आँखा अस्पतालमा निर्माण भएको चार तल्ले लिफ्टकाे हस्तान्तरण समेत भएकाे छ ।

जिल्ला समन्वय समितिको ६० र बनेपा नगरपालिकाको ४० प्रतिशत गरि कुल ४९ लाख २५ हजारमा उक्त लिफ्ट निर्माण भएकाे हाे ।