राष्ट्रपतिद्वारा मण्डनदेउपुरकाे प्रशासकीय भवनकाे उद्घाटन
मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस एवं प्रशासकीय भवनकाे राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।
आईतवार नवनिर्मित प्रशासकीय भवनकाे उद्घाटन गर्दै राष्ट्रपति पौडेलले संघीय राजधानी काठमाण्डौबाट नजिकैको पर्यटकीय क्षेत्र नगरकोटदेखि पवित्र ईन्द्रावती नदीसम्म फैलिएको सुन्दर नगरी मण्डनदेउपुर नगरपालिका आइपुग्दा आफुलाई हर्षानुभूति भएको बताएका छन् ।
हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेका हौं । आज ती सोचहरूले कति साकार रूप लिन गैरहेका छन् र लिनसक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढि निर्भर रहन्छ भन्दै राष्ट्रपति पौडेलले राज्यको पुर्नसंरचनाको क्रममा स्थानीय तहको गठन भई संघीयता कार्यान्वयन भएको योे अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेकाबेला मण्डनदेउपुर नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवम् प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकोमा नगरप्रमुखसहितका जनप्रतिनिधि र नगरवासीलाई बधाई दिए ।
उनले थपे- उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो नगरपालिकाले कृषि र पर्यटन क्षेत्रबाट मनग्य लाभ लिन सक्ने संभावना छ । यस नगरपालिका “देउपुर र मण्डन, कृषि र पर्यटन” को अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढेकोमा मलाई खुशी लागेको छ । यसैबाट नगर र नगरवासीको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने मैले विश्वास लिएको छु ।
कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो । त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ ।
उनले स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुने बताउदै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्ने बताएका छन् । त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भएपनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुनेछ उनले भने ।
राष्ट्रपति पौडेलले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पुरा गर्ने तथा जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने र मुलुक संघीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकारहरू जनताको घरदैलो नजिक स्थानीय तहसम्म पुर्याईएको सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य हुने उनकाे भनाई थियाे ।
नगरपालिकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन, सबै विद्यालयमा इन्टरनेट सेवा पुर्याई शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेकाे भन्दै उनले मिलेको भूगोल, लेकवेसीसम्मको हावापानी, राजधानीबाट नजिक, छिमेकी देश चीनसँगको तातोपानी नाकाबाट नजिकको दुरीमा रहेकोले औद्योगिक उत्पादन, कृषि र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने प्रचुर अवसरलाई यसले उपायोग गर्ने उनकाे भनाई थियाे ।
साथै, उनले संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न नगरपालिका सफल रहोस् भन्ने कामना समेत व्यक्त गरे ।
६४ काेठे नगरपालिकाकाे प्रशासकीय भवन १६ कराेड ३९ लाख ९४ हजार ९ सय ४२ रूपैयाँ लागतमा निर्माण गरिएकाे थियाे ।