रोशीको स्थापना दिवसमा ४ कर्मचारी पुरस्कृत

रोशी । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाले ८ औँ स्थापना दिवस मनाएकाे छ । ८ औँ स्थापना दिवसको अवसरमा गाउँपालिकाका चार जना कर्मचारी पुरस्कृत भएका छन् ।

आईतबार पालिकाले एक कार्यक्रमको आयोजना गरी कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान गरेको हाे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ उत्कृष्ट रोशी सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् । तामाङलाई नगद २५ हजारसहित सम्मानपत्र, मेडल, दोसल्ला, माला र खादाले सम्मान गरिएकाे थियाे । त्यस्तै, जिन्सि शाखा प्रमुख जयप्रसाद गजुरेल, लेखा शाखाका कम्प्युटर अपरेटर पेमा नाम्गेल लामा र वडा नम्बर ११ का वडासचिव मानबीर लामा रोशी सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् । रोशी सेवाबाट पुरस्कृत हुने तीनै जनालाई नगद १० हजारसहित सम्मानपत्र, मेडल, दोसल्ला, माला र खादाले सम्मान गरिएकाे थियाे ।

स्थापना दिवस तथा कर्मचारी सम्मान कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष दिनेश लामाले जनताको संघर्षपछि संघीयता आएसगैं स्थानीय तहको स्थापना भएकाे बताए । उनले जनताको सेवाप्रवाहमा कर्मचारीहरूले उत्कृष्ट कार्यसम्पादन गरेको पनि बताएका छन् । उनले थपे- जनप्रतिनिधिहरूको योजना र कर्मचारीहरूको मिहेनतले गाउँपालिका उत्कृष्ट हुदै गएको छ ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले सहिदहरूको बलिदानीबाट संघीयताको स्थापना भएको र तीन तहको सरकार बनेको भन्दै गाउँपालिका स्थापना भएपछि जनताको विकासमा सहयोग पुगेको र जनप्रतिनिधिको योजना र भिजन पूरा गर्न कर्मचारीको सहयोग चाहिने उनको भनाई छ ।

कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू तथा जनप्रतिनिधिहरू र कर्मचारीहरूको उपस्थिती रहेको थियाे ।