बहल्टारेश्वर मन्दिर निर्माणार्थ महायज्ञ
बडालगाउँ । काभ्रेपलाञ्चोककाे धुलिखेल-८ स्थित बडालगाउँमा बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धन धान्याञ्चल महायज्ञ हुने भएकाे छ ।
श्री जन चेतना युवा समूह धुलिखेल-८ बडालगाउँ मुल आयोजक समितिले आयाेजना गरेकाे महायज्ञ यही चैत्र १७ गतेदेखि २४ गतेसम्म संचालन हुनेछ ।
श्रीमद् भागवत महायज्ञ भव्य र सभ्य रुपमा सम्पन्न गर्न जन चेतना युवा समूहका अध्यक्ष रमेशप्रसाद न्यौपानेको संयोजकत्वमा १ सय ८ सदस्य मूल समारोह समिति सहित विभिन्न उप समिति गठन भएको शनिवार बनेपामा आयाेजित पत्रकार सम्मेलनमा जनाईएकाे छ ।
श्री बहल्टारेश्वर महादेव मन्दिर निर्माणार्थ अनन्तधी विभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा) को प्रमुख आतिथ्यता एवं आचार्य श्री विष्णुहरि बडाल, आचार्य सुदर्शन बडालको प्रमुख वाचकत्व तथा पण्डित श्री रामहरि बडालको उपवचकत्वमा महायज्ञ हुने बताईएकाे छ ।
करिब ९५ लाखको लागतमा निर्माण हुने उक्त मन्दिरको लागि जनसहभागीतमा ४० प्रतिशत र धुलिखेल नगरपालिकाबाट ६० प्रतिशत लागतमा बन्नेछ । ३८ लाख रकम जनसहभागितामा हुनुपर्ने हुँदा उक्त रकम संकलनको लागि श्रीमद्भागवत महायज्ञ गर्न लागिएको संयोजक रमेशप्रसाद न्यौपानेले बताएका छन् ।
उक्त महायज्ञबाट करिब ३५ लाख रकम संकलन गर्ने लक्ष्य लिइएको छ भने मण्डप निर्माण, स्वागत सत्कार, पण्डित दान र दक्षिणा गरी करिब १० लाख खर्च हुने अनुमान गरिएको छ ।