आजदेखि एसईई सुरु, काभ्रेपलाञ्चोकबाट ५ हजार ९ सय ५६ परीक्षार्थी सहभागी

बनेपा । याे वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षा दिन फारम भरेका छन् । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयबाट विद्यार्थीले परीक्षा सहभागी भएका छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी छन् । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७ सय ४९ जना विद्यार्थी प्राविधिक धारका छन् ।

देशभर २ हजार ६४ परीक्षा केन्द्र रहेका छन् । त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थीले एसईई दिएका छन् ।

यस्तै, एसईई परीक्षामा काभ्रेपलाञ्चोक जिल्लाबाट ५ हजार ९ सय ५६ विद्यार्थी परिक्षामा सहभागी भएका छन् । जसका लागि ४० वटा परीक्षा केन्द्र तय गरिएको छ । नियमित तर्फ ५ हजार ७ सय १९, एक्जाम्टेड तर्फ ३२ र प्राविधिक विषयका २ सय ५ जना विद्यार्थी परीक्षामा सहभागि छन् ।