अन्तर्राष्ट्रियस्तरको फेशन म्यागेजिनमा कभर पेजमा नेपाली कलाकार सुवेदीको तस्विर
काठमाडौं । नेपाली कलाकार तथा मोडल शेखर सुवेदीको तस्विर अन्तर्राष्ट्रिय जगतको ख्याति प्राप्त मासिक पत्रिका ‘कटना’ मा कभर पेजमा प्रकाशित भएको छ ।
अन्तर्राष्ट्रिय जगतमा ‘फेसन म्यागेजिन’को रुपमा ख्याति कमाएको रुसको मासिक पत्रिकाको २०२२ सेप्टेम्बरको संस्करणको कभर पेजमा नेपाली कलाकार तथा मोडल सुवेदीको तस्विर प्रकाशन भएको हो ।
शेखर सुवेदी नेपाली कलाकार तथा मोडलिङ्गको क्षेत्रमा यो नाम अपरिचित हैन । उनले ‘चि मुसि चि’, ‘निर्भया’, ‘गाजाबाजा’, ‘यस्तो यो माया’ नामक नेपाली कथानक चलचित्र लगायत दक्षिण भारतीय चलचित्रमा पनि उनले आफ्नो अभिनय कौशलता प्रस्तुत गरिसकेका छन् । उनले ‘याम अर्टस’ थिएटरबाट कलाकारिताको सुरुवात गरेका थिए भने बैैंगलोरमा मोडलिङ्ग सिकेका हुन् ।
अन्तर्राष्ट्रिय जगतमा नेपाली चलचित्र तथा नेपाली कलाकारले प्रभाव बढाइरहेका बेला उनले सार्वजनिक गरेका ‘भिथोलोजिकल थिम्’ अर्थात् पौराणिक धारका पहिरन पहिरिएका तस्बिरले चर्चा बटुलिरहेको छ । यस्तोमा अन्तर्राष्ट्रिय जगतका नविन पौराणिक, कलात्मक, राजनीतिक, ऐतिहासिक तथा सामाजिक विधाका कलाकारका तस्विर खोज अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त रुसको मासिक पत्रिकाले उनको तस्विर छनोट गरेको छ । यो संगै अब अन्तर्राष्ट्रिय स्तरमा पनि शेखर सुवेदीको चर्चा चुलिने देखिएको छ ।
मासिक पत्रिका ‘कटना’ अनलाईन मार्फत पनि खरीद गर्द सकिन्छ । अमेरिकन डलर ३० मुल्य रहेको उक्त म्यागेजिनको अनलाईनमार्फत डिजिटल कपि खरीद गर्न २५ अमेरिकन डलर लाग्नेछ ।