सामाजिक सञ्जाल ह्याक प्रतिशत एक हजार गुणाले वृद्धि

विगत एक वर्षमा सामाजिक सञ्जाल ह्याकको महामारी एक हजार प्रतिशतले वृद्धि भएको छ ।

पहिचान चोरीका पीडितहरूलाई सहयोग प्रदान गर्ने गैरनाफामूलक संस्था आइडेन्टिटी थेफ्ट रिसोर्स सेन्टरका अनुसार विगत एक वर्षमा सामाजिक सञ्जाल ह्याक १ हजार प्रतिशतले बढेको आफ्नो २०२२ को कन्जुमर इम्प्याक्ट रिपोर्टमा देखाएको छ ।

उपभोक्ताहरूको सर्वेक्षणमा ८५ प्रतिशतले उनीहरूको इन्स्टाग्राम खाताहरू र २५ प्रतिशतले उनीहरूको फेसबुक खाता ह्याक भएको बताएका छन् । एकाउन्ट ह्याकिङका पीडितमध्ये ७० प्रतिशतलाई आफ्नो सामाजिक सञ्जालको एकाउन्टबाट स्थायी रुपमा ब्लक गरिएको र ७१ प्रतिशतले एकाउन्ट ह्याक गर्ने ह्याकरहरुले सम्पर्क गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस प्रकारको पहिचान अपराधलाई केवल असुविधाको रूपमा अस्वीकार गर्न सजिलो भएपनि यसले मानिसहरूमा गहिरो आर्थिक र भावनात्मक रुपमा प्रभाव पार्न सक्ने प्रतिवेदनमा उल्लेख छ । उदाहरणका लागि, खाता अपहरण पीडितहरूका २७ प्रतिशतले आईटीआरसीलाई बताए अनुसार, उनीहरूले आफ्नो सामाजिक सञ्जालको नियन्त्रण गुमाएपछि बिक्री राजस्व समेत गुमाएका थिए ।

यसका साथै, इन्स्टाग्राम, युट्युब वा टिकटकबाट पैसा कमाइरहेकाहरुका लागि आफ्नो एकाउन्ट गुमाउनुको अर्थ उनीहरुको आम्दानीमा ठूलो असर पर्न सक्ने कुरा पनि प्रतिवेदन उल्लेख गरिएको छ । – एजेन्सी