नवौं राष्ट्रिय खेलकुद सकिँदा आर्मी क्लब च्याम्पियन, दशौं कर्णालीमा हुने

पोखरा । ३९ वर्षपछि गण्डकी प्रदेशको पोखरा फर्किएको नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

असोज २८ देखि कार्तिक ३ गते सम्म भएको नवौं राष्ट्रिय खेलकुदको बिहीबार विशेष समारोहका बीच पोखरा रंगशालामा समापन गरिएको हो भने दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने भएको छ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा समापन भएको हो ।

समापनमा टिम च्याम्पियन बनेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ट्रफी प्रदान गरिएको थियो । आर्मी १ सय ७२ स्वर्ण पदकसहित सर्वाधिक ३ सय ७१ पदक जितेर टिम च्याम्पियन बनेको हो । नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा खेलाडीले ३ सय ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

केही विवाद र केही असुविधाका बाबजुत पनि सम्पन्न भएको राष्ट्रिय खेलकुदमा राष्ट्रिय प्रतियोगिता भन्ने वित्तिकै खेलकुदका नयाँ सुविधा सम्पन्न पूर्वाधारहरुको निर्माण हुन्छ भन्ने कुरा पहिलो शर्त हुने गर्छ । तर नवौं राष्ट्रियमा त्यो अनुभुती गण्डकी प्रदेशले गर्न पाएन । न त आयोजकले बनाएका उपसमितिमा गण्डकी प्रदेशले त्यो अनुभुती गर्न पायो न त समग्र आयोजनामा नै । न खेल पूर्वाद्धार निर्माण भए नत मर्मत नै । मर्मतका लागि पनि स्थानिय सरकारलाई राखेपले गुहा¥यो । पुरानो खेल सामाग्रीमा खेल हुँदा खेलाडी घाइते बने । उनीहरुको खेल जिवनको भविष्य संग जोडिएको खेल सामाग्रीले खेलाडीहरुलाई पूर्न नसकिने नमिठो घाउ छोडेर गयो नवौं राष्ट्रिय खेलकुद ।

दशौं राष्ट्रिय प्रतियोगिता आयोजना गर्न कर्णाली झण्डा बोकेको छ । नवौं राष्ट्रियको जस्तै हुने हो पूर्वाद्धार नवन्ने हो र राष्ट्रिय खेलकुदको नाममा खेल खेलाउन राजधानी नै धाउनु पर्ने हो भने कर्णाली अहिलेबाट नै हात उठाउँदा राम्रो हुन्छ । राष्ट्रिय खेलकुदका नाममा हुने गलत परिपाटी र परम्परालाई कर्णालीले तोड्न आवश्यक छ ।