सुदूरपश्चिममाथि दश विकेटले एपीएफको जित
मुलपानी । काठमाडौंको मुलपानीको भएको प्रधानमन्त्री कप वन डे क्रिकेट अन्तर्गत आज भएको छैठौं खेलमा सुदूरपश्चिम क्रिकेट टिममाथि एपीएफले १० विकेटको जित हात पारेको छ ।
४३ ओभरमा सिमित गरिएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभरमा सबै विकेट गुमाएर मात्र ६७ रन बनाएको थियो । जसका लागि राजु रिजालले ६८ बलको सामना गर्दै २४ रन बनाएको थियो । एपीएफका लागि भुवन कार्कीले २२ रन खर्चेर ४ विकेट लिएका थिए भने कमल ऐरीले १८ रन खर्चेर २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा आम्र्ड पोलिस फोर्स क्लब – एपीएफले मात्र ११ ओभर २ बलमा विना विकेट क्षति विजयलक्ष्य हासिल गरेको थियो । जसका लागि आशिफ सेखले ३२ बलमा अविजित ४२ र प्रदीप ऐरीले ३६ बलमा अविजित २५ रन बनाएका थिए ।