न्युजिल्याण्डमाथि इङ्गल्याण्डको जित, समुह चरणको अन्तिम खेल नै निर्णायक हुने
अष्ट्रेलिया । अष्ट्रेलियामा जारी टीट्वान्टी विश्वकप क्रिकेटमा आज इङ्गल्याण्डले न्युजिल्याण्डमाथि २० रनले जित हात पारेपछि समुह चरणको अन्तिम खेल नै निर्णायक हुने भएको छ ।
समुह १ अन्तर्गतका सबै राष्ट्रहरुले ४–४ खेल खेलिसक्दा न्युजिल्याण्ड, इङ्गल्याण्ड र अष्ट्रेलियाले समान ५–५ अंक जोडेसँगै सेमिफाइनल प्रवेशमा सम्भावना कायमै बनाएको छ । नेट रनरेटको आधारमा हालसम्मको अवस्थामा न्युजिल्याण्ड शीर्षस्थान, इङ्गल्याण्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । न्युजिल्याण्डको नेट रनरेट २.२३३, इङ्गल्याण्डको ०.५४७ र अष्ट्रेलियाको –०.३०४ रहेको छ ।
आजको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको इङ्गल्याण्डले ६ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । जसका लागि जोस बटलरले ७३ र एलेक्स हेल्सले ५२ रनको पारी खेलेका थिए भने न्युजिल्याण्डका लागि लोकी फग्र्युसनले २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले ६२ र कप्तान केन विलियमसनले ४० रनको पारी खेलेका थिए भने इङ्गल्याण्डका लागि क्रिस वोक्स र साम कुरनले समान २–२ विकेट लिएका थिए ।
समुह चरणको अन्तिम खेलमा न्युजिल्याण्डले आयरल्याण्डको, अष्ट्रेलियाले अफगानिस्तानको र इङ्गल्याण्डले श्रीलंकाको सामना गर्नेछ । न्युजिल्याण्ड, अष्ट्रेलिया र इङ्गल्याण्ड यी तिनै राष्ट्रले अन्तिम खेलमा जित हात पारे नेट रनरेटको आधारमा दुई राष्ट्र सेमिफाइनल प्रवेश गर्नेछ । हालको अवस्थालाई मध्यनजर गर्दा न्युजिल्याण्ड र इङ्गल्याण्डको सेमिफाइनल प्रवेश बलियो अवस्थामा रहेको छ ।
हालसम्मको अवस्थाको अंकतालिका यसप्रकार रहेको छः