भारतद्वारा बंगलादेश ५ रनले पराजित, जितसँगै भारत तालिकाको शीर्षस्थानमा
अष्ट्रेलिया । अष्ट्रेलियामा जारी टीट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज भएको भारत र बंगलादेश बीचको खेलमा भारतले ५ रनले जितेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग आमन्त्रण पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ४४ बलमा अविजित ६४ रन र केएल राहुलले ३२ बलमा ५० रन बनाएका थिए । बंगलादेशका लागि हसन मुहम्मदले ३ र साकिब अल हसनले २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्गमा बंगलादेशका लिटन दासले २१ बलमा अर्धशतक पूरा गर्दा ७ ओभरमा विना विकेट क्षति ६६ रन बनाएको थियो । वर्षाको कारण केही समय खेल रोकिएको थियो । वर्षापछि पुनः खेल सुरु हुँदा डर्कलुइस मेथोडका आधारमा बंगलादेशलाई १६ ओभरमा १५१ रनको विजयलक्ष्य तोकिएको थियो ।
वर्षापछिको खेलमा लिटन दास ६० रनमा केएल राहुलद्वारा रनआउट भएपछि बंगलादेशले विकेट लगातार गुमाउँदै गएपछि निर्धारित १६ ओभरमा बंगलादेशले ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।
जितसँगै भारत समुह–२ को अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । भारतको ४ खेलमा ६ अंक पुगेको छ भने ३ खेल खेलेको दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा ५ अंक सहित रहेको छ । भोलि बिहिबार दक्षिण अफ्रिकाले पाकिस्तानको सामना गर्नेछ ।