५२ करोड पुरस्कार राशीका लागि ३ नेपाली टिम पब्जीमा भिड्दै, समुह चरणको मलेशिया र फाइनलको खेल इण्डोनेशियामा हुने
काठमाडौं । चार मिलियन अमेरिकन डलर यानकी ५२ करोड नेपाली रुपैयाँको पुरस्कार राशी राखिएको ‘इ–स्पोर्ट गेम पब्जि ग्लोबल च्याम्पियन्सीप’मा नेपालबाट ३ वटा टिमले भिड्ने भएको छ ।
यही कार्तिक २४ गतेदेखि सुरु हुने इ–स्पोर्ट गेम ‘पब्जि ग्लोबल च्याम्पियन्सीप’को समुह चरणको खेल मलेशियाको क्वालालाम्पुरमा हुने भएको छ । विश्वभरीबाट छनौट भई आएका ४८ वटा टिमले समुह चरणको खेल खेल्नेछ । ४८ टिमलाई ३ समुहमा बाँडिएको छ र प्रत्येक समुहको शीर्ष ३ टिम फाइनल प्रवेश गर्नेछ भने अन्तिम ५ टिम प्रतियोगिताबाट बाहिरिनेछ ।
नेपालबाट प्रतिनिधित्व गर्ने ‘डिआरएस’ गेमिङ रातो समुह, ‘स्काइलाइट्स’ गेमिङ हरियो समुह र ‘टीटुके’ पहेंलो समुहमा रहेका छन् ।
समुह चरणको प्रत्येक समुहको चौंथोदेखि ११ औं स्थानसम्मको टिमहरु गरी जम्मा २४ टिमलाई पुनः ‘सर्भाइभल चरण’ खेलाउनेछ र त्यसबाट उत्कृष्ट १६ लाई पुनः ‘लास्ट चान्स’ चरण खेलाउनेछ । ‘लास्ट चान्स’को चरणमा तालिकाको शीर्षस्थानमा रहेको ४ टिम फाइनल प्रवेश गर्नेछ ।
‘समुह चरण’बाट आएका ९ टिम, ‘लास्ट चान्स चरण’ पार गर्ने ४ टिम र ‘स्पेशन इन्भाइट’बाट ३ टिम गरी १६ टिमको फाइनल खेल खेलाइनेछ । पुस २२ देखि २४ गतेसम्म हुने फाइनल खेल भने इण्डोनेशियाको जाकार्टामा खेलाइनेछ ।
अंकको आधारमा तालिकामा उत्कृष्ट हुने टिम र अन्य टिमहरुलाई कति पुरस्कार दिइनेछ, सो भने निक्र्याैल भइसकेको छैन ।